नेपालगञ्ज : नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीई उपाधि (डिग्री) प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीईको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन् । नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधि पाएका हुन् ।
डा. झा वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।
आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधि विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
डा. झा भन्छन्, ‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो । यसले विश्व–चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मदत पुर्याउछ ।’
यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल–१ र मोड्युल–२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ ।
डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल–१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल–२ पूरा गरेका हुन् ।
यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार