Listen LIVE

सञ्जीवनीको बोर्ड हटाउन नेपालगञ्ज उपमहानगरको निर्देशन

नेपालगञ्ज : सञ्जीवनी कलेज अफ मेडिककल साइन्सद्वारा सञ्चालित मेडिकल कलेजको बोर्ड लगाएर लर्डबुद्ध एजुकेशन एकेडेमीबाट कारोबार गरिरहेको सञ्जिवनीका सञ्चालकहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाले बोर्ड हटाउन र स्वीकृतिको प्रमाण पेश गर्न पत्राचार गरेको छ ।

सञ्जिवनी कलेजका सञ्चालकहरुले लर्डबुद्धद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजलाई भाडामा लिएर आफ्नो ब्यवसाय शुरु गरेपछि लर्डबुद्धका कर्मचारीलाई हटाउने र सरुवा गर्ने कार्य गरिरहेका बेला उपमहानगरपालिकाले अनाधिकृत बोर्ड लगाएर कारोबार गरेको भन्दै पत्राचार गरेको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाले सञ्चालित लर्ड बुद्ध एकेडेमी लीमिटेडद्वारा भाडामा लिई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बाहिर नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह कतैवाट पनि अनुमति प्राप्त नगरी ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्वारा सञ्चालित नेपालगञ्ज हस्पिटल’ भन्ने बोर्ड टाँसिएको र भित्र लर्ड बुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति यस उप–महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पत्रमार्फत जनाएको छ ।

उपमहानगरले पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त सञ्जीवनी कलेज सञ्चालनका लागि नेपालको संविधान बमोजिमका तीन तहका सरकारमध्ये कहीँ कतैवाट अनुमति प्राप्त भएको भए सो प्रस्तुत गर्न र प्राप्त नभएको भए उक्त बोर्ड हटाई कानून बमोजिम अनुमति प्राप्त गरेर सो अनुसार कारोबार गर्न गराउन निर्देशन समेत गरेको छ ।

निर्देशन पालना नगरिए उपमहानगरपालिकाले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ । सञ्जिवनी व्यवस्थापनले भाडामा कलेज लिएसँगै ट्रेड युनियनमा संगठित कर्मचारीलाई युनियन छाड्न दवाव दिने, सरुवा गर्ने तथा आन्दोलन गरे बापत हटाउने जस्ता कार्यहरु गरेको कर्मचारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया