हुम्ला : हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकहरुले चिकित्सकबाट उपचार पाएका छन् । सधैँ गाउँकै स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीबाट उपचार गर्दै आएका उनीहरुले शिविरमा भने चिकित्सकबाट उपचार पाएका हुन् ।
अझ एक जना ९८ वर्षका ज्येष्ठ नागरिकले पहिलो पटक चिकित्सकबाट उपचार पाएको सिमकोट गाउँपालिका– ७ को डाडाफया गाउँँका मेघजित शाहीले बताए । यत्रो उमेरसम्म चिकत्सकबाट उपचार नपाएको बताउँदै उनले शिविर सञ्चालन भएपछि चिकित्सक आएका कारण उहाँहरुसँग उपचार पाएको बताए । दम, कान नसुन्ने र आँखामा पनि समस्या आएपछि उनी शिविरमा उपचारका लागि आएका थिए ।
त्यसैगरी, शिविरमा सोही गाउँकी ९५ वर्षकी पर्वकला शाहीले पनि पहिलो पटक चिकित्सकसँग उपचार गरेको बताइन् । तल्लो पेट र ग्यास्टिक समस्याले पीडित शाहीले जाँच गर्ने क्रममा खुलेर आफ्नो समस्यासमेत राखेकी थिइन् । यो समस्या लिएर दुई महिनाको एक पटक स्वास्थ्य चौकीमा पुगेर उपचार गर्दै आएको बताउँदै यस पटक शिविरमा भने चिकित्सक देख्न र उपचार गर्न पाएको उनले बताइन् ।
त्यसैगरी शिविरमा ७१ वर्षकी मोतिसरा शाहीले पनि पहिलो पटक चिकित्सकसँग उपचार गर्न पाएकोमा खुशी व्यक्त गरिन् । बाथ रोगकी बिरामी शाहीले शिविरमा चिकित्सक आउने खबर पाएपछि गाउँँका ज्येष्ठ नागरिकहरु अधिकांस उपचार गर्न आएको बताइन् ।
सदरमुकाम नजिकको गाउँका ज्येष्ठ नागरिकहरुले समेत चिकित्सकबाट पहिलो पटक उपचार गर्न पाएको भनाइ सुन्दा अचम्म लागेको बताउँदै शिविरमा आएका बिरामीको उपचारमा संलग्न चिकित्सक विकास शाहीले आफूलाई पनि यसरी ज्येष्ठ नागरिकको उपचार गर्न पाएकोमा भाग्यमानी ठानेको बताए । खानपानमा ध्यान दिन नसकेका कारण शिविरमा आएका अधिकांस बिरामीहरुलाई ग्याष्ट्रिक, बाथ, श्वासप्रश्वास, युरिक एसिड, दम, मधुमेह रोग देखिएको उनले बताए ।
ज्येष्ठ नागरिकहरु कै उपचारमा सहयोग पुगोस् भनेर नै शिविर सञ्चाल गरिएको शिविरका सञ्चालनमा सहयोग गर्दै आएको हेल्थ अस मेडिकल सेन्टरका प्रमुख नारायण फडेराले बताए ।
शिविरमा चिकित्सकहरु छक्क थापा, वीरेन्द्र शाही र मङ्गला बुढाले उपचार गरेका थिए भने स्त्री रोगसम्बन्धी सम्पूर्ण रोगको जाँच, निःशुल्क औषधी वितरण, भिडियो एक्स–रे, नाक, कान र घाँटीको उपचार हुनुका साथै सुगर र प्रेसरको पनि जाँच भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा २५५ जना ज्येष्ठ नागरिकको उपचार भएको हो । स्वास्थ्य जाँच गरिएका बिरामीलाई औषधी पनि निःशुल्क वितरण गरिएको थियो ।