Listen LIVE

बजेटमा बाँके उपेक्षित, निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

नेपालगञ्ज : नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँकेलाई पर्याप्त प्राथमिकता नदिइएको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । विगतका बजेटमा उच्च प्राथमिकतामा रहेका नौवस्ता औद्योगिक क्षेत्र, नेपालगञ्ज विमानस्थल, भेरी अस्पताल, राप्ती खानेपानी आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कार्यक्रम यसपटक स्पष्टरूपमा समेटिएका छैनन् ।

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान योजना अझै कार्यान्वयन हुन सकेको छैन। भेरी अस्पताल र राप्ती खानेपानी आयोजनाका लागि पनि उल्लेख्य बजेट विनियोजन नभएको गुनासो स्थानीय सरोकारवालाहरूको छ ।

यसैबीच, आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति बाँकेको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया जनाएको छ । व्यवसायीहरूले करको सीमा वृद्धि तथा पर्यटन प्रवद्र्धनसम्बन्धी योजनालाई सकारात्मक रूपमा लिए पनि विद्युत् महसुल र साना उद्यमीका समस्या समाधानमा बजेट कमजोर रहेको टिप्पणी गरेका छन् ।

५० युनिटभन्दा बढी विद्युत् खपतमा करको दायरा विस्तार गरिएको विषयप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी ओलीले विद्युत्मा कर बढ्दा उत्पादन लागत बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि पर्ने बताए ।

उनले यस व्यवस्थाले व्यवसाय सञ्चालन खर्च बढाउने भएकाले सरकारले पुनरावलोकन गर्नुपर्ने सुझाव दिए । यद्यपि, पाँच लाख रुपैयाँको करयोग्य सीमा बढाएर १० लाख रुपैयाँ पु¥याइनु तथा उच्च करदरमा कमी ल्याइनुलाई उनले सकारात्मक कदमका रूपमा लिएका छन् ।

पर्यटन व्यवसायी केशव न्यौपानेले पर्यटन क्षेत्रका लागि ल्याइएको बजेट सन्तोषजनक रहेको बताए । विशेषगरी …गन्तव्य विवाहÚ -डेस्टिनेसन वेडिङ) र …हिल स्टेशनÚ प्रवद्र्धन गर्ने नीतिले नेपालगञ्जका होटल तथा पर्यटन व्यवसायलाई फाइदा पुग्ने र नेपालगञ्जलाई पर्यटनको प्रवेशद्वारका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

महिला उद्यमी कृष्णा पाठकले महिला उद्यमीका लागि १५ लाख रुपैयाँसम्मको सहुलियत कर्जा तथा सीप विकासका कार्यक्रमलाई सकारात्मक माने पनि वित्तीय पहुँचको समस्या कायमै रहेको बताइन् । बजेटले नयाँ स्टार्टअपलाई प्राथमिकता दिए पनि समस्यामा परेका पुराना व्यवसायको पुनरुत्थान, बजार व्यवस्थापन तथा प्रशासनिक झन्झट न्यूनीकरणका विषयमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको उनको गुनासो छ ।

नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बजेटले आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखेको देखिए पनि बेरोजगार युवालाई स्वदेशमै आकर्षित गर्ने ठोस कार्यक्रम तथा साना किसानका समस्या समाधान गर्ने प्रभावकारी योजना अभाव रहेको बताए ।

उनका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई निरन्तरता दिने उल्लेख गरे पनि जिल्लाका अन्य महत्वपूर्ण आयोजना र क्षेत्रलाई पर्याप्तरूपमा सम्बोधन गर्न सकेनन् ।

प्रतिक्रिया