नेपालगञ्ज : बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा ७२९ जना क्षयरोगीका विरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२९ जना विरामी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा रहेको उनले बताए ।
नेपालगञ्जमा दुई सय जना, कोहलपुरमा एक सय २९ जना फेला परेका छन् । डुडुवा गाउँपालिकामा ६२, बैजनाथ गाउँपालिकामा ९३, खजुरा गाउँपालिकामा ९२ जना, जानकी गाउँपालिकामा ५८ जना फेला परेको पनि उनले बताए । राप्तीसोनारीमा ५० र नरैनापुरमा ४५ जना क्षयरोगीका विरामी फेला परेको पनि उनले बताए । गत वर्ष एक हजार एक सय ८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए । पछिल्लो समय बाँकेमा एआइ एक्स–रे विधिद्धारा क्षयरोगको सक्रिय खोजपड्ताल शिविर भइरहेको छ । समुदायस्तरमा नेपालगन्ज र खजुरामा गरिएको शिविरबाट १४ जना क्षयरोगी फेला परेको पनि उनले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग फोकलपर्सन विनोद विकका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं.१२, १४, २०, २१ र २२ मा ८ जना क्षयरोगी फेला परेका छन् । त्यसमध्येमा एक जना भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामी फेला परेका छन् । ती वडा नं.१४ का बिरामी हुन् । त्यसैगरी खजुरा गाउँपालिकामा ६ जनामा क्षयरोग फेला परेको छ । त्यसमा वडा नं.८ का एक जना बिरामी पनि भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका फेला परेका छन् ।
नेपालगञ्जस्थित जिल्ला कारागारमा रहेका कैदीवन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको क्षयरोगको पहिचान गर्न सुरु गरिएको छ । त्यसका लागि एआइ एक्स–रे विधिद्धारा क्षयरोगको खोजपड्ताल शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र कुमार शाहले बताए । एआइ एक्स–रे विधिबाट क्षयरोग पहिचान गर्ने प्रविधि भनेको कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्स–रे विश्लेषण गरेर क्षयरोगको सम्भावित संक्रमण पत्ता लगाउने आधुनिक विधि हो ।
यसमा बिरामीको छातीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआइ प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, संक्रमण वा क्षयरोगसँग मिल्ने संकेतहरु विश्लेषण गर्ने शाह बताउँछन् । त्यसपछि प्रणालीले क्षयरोगको सम्भावना कति छ ? भन्ने रिपोर्ट दिन्छ । र, यो विधिबाट रिपोर्ट पनि छिटो आउने उनले बताए । शिविर उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
उनले प्रदेश सरकार आफैले र कतिपय संघसंस्थाहरुसँग सहकार्यमा यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अभियान चलाइएको उनले बताए । उनले एआइ एक्स–रे विधिबाट फोक्सोसँग सम्वन्धित क्षयरोगी पत्ता लगाउन सहज भएको बताए । यस्तै वि.एन.एम.टीका कार्यक्रम संयोजक ज्ञानेन्द्र श्रेष्ठले नेपालमा क्षयरोग मुक्त अभियान सफल पार्न समुदायस्तरमा रहेका सबै क्षयरोगीको पहिचान गर्न र उनीहरुलाई उपचारको पहुँचमा ल्याउन जरुरी रहेको बताए ।
कारागार प्रमुख प्रकाश ढुंगानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीवन्दीको पनि स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए । कारागार व्यवस्थापन विभाग जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्ट -बि.एन.एम.टी) को व्यवस्थापनमा शुरु भएको शिविर तीन दिनसम्म चल्ने छ । त्यसक्रममा ८४७ जना कैदीबन्दी, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारी गरी करिव ९०० जनाको चेकजाँच गरिनेछ । क्षयरोगसँगै उनीहरुको एचआइभी पनि जाँच गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार