दाङ : राप्ती आँखा अस्पतालमा शल्यक्रिया भवनको शिलान्यास गरिएको छ । भारतीय दुतावास, तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको संयुक्त लगानीमा भवन निर्माण हुन थालेको हो ।
चार करोड २४ लाख रुपियाँको लागतमा निर्माण हुन थालेको भवन २०८३ वैशाखमा काम सम्पन्न गर्नेगरी सुरु गरिएको छ । भवनको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का, भारतीय राजदुतावासका प्रथम सचिव वशिष्ठ नन्दनले संयुक्त रूपमा शिलान्यास गरे ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले नगरको गौरवका रूपमा रहेको अस्पताललाई प्रदेशकै नमुनायोग्य आँखा अस्पतालका रूपमा विकास गर्न शल्यक्रिया भवन निर्माणमा सहयोग गरिएको बताए । उनले मोतियाविन्दुमुक्त पालिका बनाउन नगरवासीलाई मोतियाविन्दुको निःशुल्क रूपमा शल्यक्रियाको व्यवस्था गरिएको बताए ।
स्थापना भएपछि हालसम्म ३९ लाख लाख ७७ हजार पाँच सय बढीले सेवा लिएका छन् । वि.स. २०४५ सालमा स्थापना भएको अस्पतालमा दुई लाख ४४ हजारको शल्यक्रिया गरिएको छ । तीमध्ये ४७ हजार नौसय ५८ जनाको निःशुल्क रूपमा आँखाको शल्यक्रिया गरिएको छ ।
लुम्बिनी प्रदेशको दाङ, रोल्पा, सल्यान, प्यूठान, पूर्वि रुकुमसहित कर्णाली प्रदेशका पश्चिमरुकुम, सल्यानका नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । भवन निर्माण भएपछि अस्पतालमा अत्याधुनिक रूपमा सेवा प्रदान गर्न सकिने अस्पतालका सूचना अधिकारी बालाराम खड्काले बताए । उनले भवन निर्माण सम्पन्न भएपछि अत्याधुनिक उपकरणमा सेवा प्रदान गरिने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार