नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपैयाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान बरामद गरेको छ ।
तस्करी नियन्त्रण र सीमानाको सुरक्षाका लागि बाँकेको नाकामा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको ३० नम्बर गणले चेकजाँच बढाउँदै गस्ती समेत तिव्र पारेपछि सो परिमाणको अवैध सामान नियन्त्रणमा लिएको हो ।
चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिरसम्मको अवधिमा ४ करोड ३८ लाख ५ हजार ७१५ रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले बताए । उनले सीमानाबाट हुँदै आएको अवैध आयात र निर्यात रोक्नका लागि नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गरिएकोले यति धेरै अवैध सामान नियन्त्रणमा लिन सकिएको बताए ।
३० नम्बर गणले साउन महिनादेखि नै तस्करी नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गरेको र सो अभियानलाई प्रभावकारी बनाउन गण र गण मातहत बाँकेको सीमा क्षेत्रमा परिचालित बीओपी (बर्डर आउट पोस्ट) मा कार्यरत सबै सशस्त्र प्रहरीलाई प्रशिक्षण दिइएको शसस्त्र प्रहरी उपरिक्षक डाँगीको भनाइ छ ।
‘तस्करी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सुरुमा सशस्त्र प्रहरीलाई नै प्रशिक्षण दिइएको थियो,’ उनले भने, ‘बरामद गरिएका अवैध सामानसँगै सो अवधिमा केही कुख्यात तस्करलाई पनि नियन्त्रणमा लिएपछि भन्सार कार्यालयमार्फत उनीहरु कारबाहीमा परेका छन् ।’ सो गणका अनुसार सशस्त्र प्रहरीले जिल्लामा गत आर्थिक वर्ष २०८०–८१ मा भने १३ करोड ८० लाख ९५ हजार २७० मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक डाँगीले चोरी तस्करी भन्सार छली विरुद्धमा सशस्त्र प्रहरीले शून्य सहनशीलता नीति अनुरुप कारबाही अघि बढाएको बताए । उनले थपे–‘हाम्रो टोलीले जहाँ तस्करका अवैध गतिविधि देख्यो, त्यही फिल्डमै कारबाही गछौँ, कुनै पनि गैर कानुनी गतिविधि गर्ने छुट कसैलाई छैन ।’
यहाँस्थित नेपाल भारत नाकामा ठाउँ ठाउँमा सशस्त्र प्रहरी बिओपी स्थापना गरिएको तथा मुख्य नाका र सो नजिकका क्षेत्रमा चेकजाँच र गस्तीलाई कडा पारिएपनि तस्करी र अवैध आयात भने निरन्तर जारी रहेको कुरा प्रहरीले पटक पटक नियन्त्रणमा लिएको अवैध सामानबाटै पुष्टि भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
विगत लामो सयमयदेखि अवैध आयात रोक्न र नेपालगन्जको व्यापार व्यवसाय फस्टाउन सहयोग गर्न माग गर्दै आए पनि तस्करी र अवैध आयात भने नरोकिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार