Listen LIVE

‘ड्रागन फ्रूट’ खेतीमा रमाउँदै हिमबहादुर

बर्दिया : गुलरिया नगरपालिका–८ का ४२ वर्षीय हिमबहादुर पुन बारीमा फल्न तयार ‘ड्रागन फ्रुट’का बिरुवा स्याहारमा यतिबेला व्यस्त छन् । आउँदो जेठमा ड्रागन फ्रुट बजारमा लैजान उनी सबेरैदेखि अबेर रातिसम्म बारीमै खटिन्छन् । तराईमा गर्मी चढ्दैछ । यतिबेला मजाले जलमल नपाए फल पोषिलो हुँदैन ।

‘फल्ने बेला हुन लाग्यो, अहिले सिँचाइ र राम्रोसँग मल नपाए राम्रो उत्पादन दिँदैन । अन्य काम छाडेर ड्राईगन फ्रुटकै हेरचाहमा जुटेको छु,’ उनले भने ।

पर्याप्त माग भएकाले उनलाई उत्पादन बेच्न समस्या छैन । गत वर्ष पहिलो उत्पादन भित्र्याएका उनले राम्रो व्यापार भएको बताए । ‘बाँकेमा दैनिक एक क्विन्टल ड्रागन फ्रुटको माग थियो,’ उनले भने, ‘बेच्न अन्त पठाउनु परेन।’ ड्रागन फ्रुट खेती गरेको पहिलो वर्षमा लोभलाग्दो आम्दानी भएपछि जिल्लाभित्र र बाहिरका किसान पनि आफ्नो बारी अवलोकन गर्न आएको उनले बताए । उनले फलसँगै ड्रागन फ्रुटको बेर्ना पनि उत्पादन गरी बिक्री गरिरहेका छन् ।

१० वर्षदेखि कृषिमा लागेका पुनले ड्रागन खेती गरेको दुई वर्ष भएको बताए । श्रीमिलन कृषि फर्म दर्ता गराएर तरकारी, केरा, माछा, कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी नभएपछि ड्रागन खेतीमा लागेको उनले सुनाए । ‘सागसब्जीबाट सिजनमा मूल्य नपाउँदा दिक्क लागेर छोडेँ,’ उनले भने, ‘४ फिट तल बलौटे माटो भएकोले पानी पु¥याउन नसकेर माछा पनि फस्टाएन । केरा खेती गर्दा हुरीले बोट ढालेर सखाप बनाउँदा लगानी नै डुब्यो ।’

एकपछि अर्को गर्दै व्यवसाय डुबे पनि युट्युब हेरेर ड्रागन खेतीमा लागेको उनले बताए । गत वर्षदेखि दुई छोराको पढाइ र घर खर्च ड्रागन खेतीले चलिरहेको उनले बताए । दुई वर्षअघि उनले ड्रागन रोप्ने योजना बनाए पनि उनलाई बिरुवाकै खोजीमा धेरै अलमलिए ।

‘बाँकेबाट ३ सय ५० का दरले एक हजार बिरुवा ल्याएर चार कठ्ठामा खेती सुरु गरे,’ उनले भने,‘अहिले आफ्नै खेतमा मलेसियन पिङ सिएल, मलेसियन सेतो र इज्राईल पहेँलो गरी तीन प्रजातिका ड्रागन लगाएको छु ।’ चार कठ्ठामा करिब ८ लाख लगानी गरेर खेती सुरु गरेको उनले बताए । भारतीय सिमावर्ती क्षेत्रमा जग्गा भएकोले बैंकले धितो राख्न नमान्दा तीन कठ्ठा जग्गा बेच्नुपरेको पुनले बताउँछन् ।

‘आवश्यकता अनुसार लगानी नहुँदा समस्या भइरहेको छ । नयाँ मोडलबाट खेती गर्ने सोच थियो, तर खर्चिलो भएकाले पुरानै तरिकाले रोपेको छु,’ उनले भने । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा धेरैपटक धाउँदा पनि कुनै सहयोग नपाएको पुनको गुनासो छ ।

गत वर्ष ५ लाख बराबरको उत्पादन बिक्री गरेका पुनले यसपाली १० लाखको उत्पादन हुने अनुमान गरेका छन् । उनले थोकमा प्रतिकिलो ४ सय र फुटकर ५ सयमा बिक्री गर्छन् । ड्रागन खेतीसँगै अन्तरबाली खेती पनि गरिरहेको उनले बताए । ‘ड्रागन फ्रुट खेतीको दुई कठ्ठामा ५ क्विन्टल आलु फल्यो,’ उनले भने, ‘दुई कठ्ठामा ५० हजार बराबरको गोभी बेचेँ ।’

गत वर्ष अन्तरबालीबाट करिब १ लाख रुपैयाँ अतिरिक्त आम्दानी भएको उनले सुनाए । अहिले उनले ड्रागनका बोटकै बीचमा खुर्सानी, करेला, काँक्रा, लौका, फर्सी र भिन्डी हुकाईरहेका छन् । हालसम्म १ हजार ड्रागनको बेर्ना बिक्री गरेको पनि उनले बताए । ‘बेच्नलाई १ हजार बेर्ना जमाएर तयारी अवस्थामा छ,’ उनले भने, ‘थोकमा धेरै बेर्ना लिनेलाई २ सय र फुटकरमा २ सय ५० सम्म प्रति बेर्ना दिन्छु ।’

७–८ वर्ष कृषि व्यवसायमा घाटा व्यहोरे पनि गत वर्षदेखि राम्रो आम्दानी भइरहेकाले व्यवसाय बढाउने योजना बनाएको उनले बताए । गाउँमा बसेर के नै गर्न सकिन्छ भनेर विदेशिन भौतारिनु भन्दा हरेश नखाएर स्वदेशमै मिहनेत गरे कृषिबाट राम्रै फाइदा हुने पुन सुझाउँछन् ।

प्रतिक्रिया