Listen LIVE

पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्न स्वास्थ्यकर्मीलाई तालिम

नेपालगञ्ज : बाँके युनेस्को क्लबले नेपालगञ्जमा कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । 

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजनाअन्तर्गत सो तालिम नेपालगञ्जमा सञ्चालन गरेको हो । 

उक्त तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नु तथा कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउनु रहेको क्लबले जनाएको छ । 

बाँके युनेस्को क्लबका अनुसार तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन तयारी तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

कार्यक्रमको उदघाटन सत्र नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । महाशाखा प्रमुख चन्दले तालिमका उद्देश्य र अपेक्षित उपलब्धिहरूबारे प्रकाश पार्दै समस्याको वैज्ञानिक विश्लेषण तथा प्रमाणमा आधारित समाधानमार्फत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।

तालिम अद्यावधिक आईएमएएम निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्रभावकारी सिकाइकालागि प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागीमूलक विधिहरू अपनाइएको थियो । यसबाट सहभागीहरूको प्राविधिक दक्षता वृद्धि हुनुका साथै सरोकारवालाबीच समन्वय र सहकार्य समेत मजबुत भएको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य स्वेता गुरुङको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण राजन बहादुर शाही र तेज बहादुर ओलीले गरेका थिए भने श्रीकृष्ण बस्नेतले प्राविधिक सहयोग गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले तालिमले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूले सिकेका सीपहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइन् । साथै, केस पहिचान, स्क्रिनिङ तथा उचित उपचार व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने बताइन् ।

त्यस्तै, बाँके युनेस्को क्लबकी कार्यसमिति सदस्य गुरुङले सहभागीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतारेर पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।

उक्त तालिममा नेपालगञ्जको वडा नम्बर १ देखि २३ नम्बर वडाका स्वास्थ्यकर्मी, पोषण सहजीकर्तालगायत गरी ३३ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा दृष्टि शाह, खिमबहादुर थापा र अनु चौधरीले सहयोग गरेका थिए ।

प्रतिक्रिया