काठमाण्डौ : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताएका छन् । अदालतको फैसलापछि विज्ञप्ति जारी गर्दै सभापति थापाले यो निर्णयलाई हार–जितको रूपमा नलिन आग्रह गर्दै यसले पार्टीलाई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासमा हिँडाउन मद्दत पुग्ने उल्लेख गरेका छन् ।
उनले भने, 'सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।'
पार्टीभित्रको आन्तरिक विवाद र कानुनी निरूपणपछि अब सबैको ध्यान पार्टी एकतामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । सभापतिको हैसियतले पार्टीलाई एकढिक्का बनाएर लैजाने मुख्य जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै उनले देश तथा विदेशमा रहेका पार्टीका सम्पूर्ण सदस्य एवं शुभेच्छुकलाई सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरे ।
महाधिवेशनमा केन्द्रित हुन आग्रह पार्टीको आगामी १५ औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको सन्दर्भमा सभापति थापाले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।
'समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ,' थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् । पार्टी पुनर्जागरणका लागि आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाउँदै उनले एकताका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार