नेपालगञ्ज : बाँकेको बैजनाथमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । १८औं गणतन्त्र दिवसको अवसर पारेर प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको आयोजनामा बैजनाथ गाउँपालिका–७ पेडारी गाउँमा विहिबार नसर्ने रोगको स्क्रिनिङ्ग उपचार तथा प्राथमिक कान उपचार सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
उक्त शिविरमा १९७ जना सेवाग्राहीको सुगर, प्रेसर तथा कान सम्बन्धि समस्याको जाँच दक्ष तथा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गरिएको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेका अध्यक्ष जयराम पाण्डेले जानकारी दिए । शिविरबाट ४५ जना उच्च रक्तचाप, २० जना मधुमेह, कानको जाली प्वाल परेका ६ जना, कान कम सुन्ने ५ जना, कानमा फोहर भएका १५ जना बिरामी पत्ता लागेका थिए । कानको जाली प्वाल परेका ३ जनाको अपरेशनको लागि रिफर गरिनुका साथै सुगर तथा प्रेसरका बिरामीहरुलाई आवश्यक उपचार तथा परामर्श सेवा दिइएको थियो । स्वस्थ जिवनशैली र खानपान सम्बन्धि स्वास्थ्य शिक्षा पनि प्रदान गरिएको थियो ।
कार्यक्रमको उदघाटन पूर्व उपसभामुख एवम् नेकपा माओबादी केन्द्र बाँके इन्चार्ज पुर्णा कुमारी सुवेदीले गरेकी थिइन् भने स्वागत मन्तब्य बैजनाथ–७ का वडा अध्यक्ष दिनेश थारुले गरेका थिए । साथै शुभकामना मन्तब्य महासंघका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज मानव नेपालीले ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता महासंघका बाँके जिल्ला अध्यक्ष लंक बहादुर रोकायाले गरेका थिए । कार्यक्रममा महासंघसंग आबद्ध सेवा निबृत्त भएका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा तह बृद्धि भएका स्वास्थ्यकर्मीहरुलाई बधाई पनि दिइएको थियो ।
कार्यक्रममा महासंघ बाँकेको टिम, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेको टिम, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजका चिकित्सक, इन्टास नेपाल, नेकपा माओबादी केन्द्र बैजनाथ ईन्चार्ज, वडा नं ७ का वडा अध्यक्ष लगायतको सहयोग र सहकार्य रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार