Listen LIVE

जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन

नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेपछि सुरक्षा व्यवस्था कडा भएको छ । कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउने गरिएको छ । 

सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दैगएको पाइएपछि सो नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको शसस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ । 

जमुनाहामा परिचालित दुईवटा तालिमप्राप्त कुकुरले विशेषगरी हात हतियार, बिस्फोटक पदार्थ तथा लागुऔषधसम्बन्धी चेकजाँचमा सघाइरहेको जनाउँदै सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भिमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमितरूपमा यस्ता तालिमप्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ रहने बताए । 

उनले सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसार–पसार, सीमा अपराध तथा शंकास्पद गतिविधि गर्नेहरुमा त्रास उत्पन्न भएकाले त्यस्ता कार्य नियन्त्रणमा थप प्रभावकारिता आउने दावी गरे । 

सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाई गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप कडा पार्न कुकुर पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले लागुऔषध ओसार–पसार लगायतका गैर कानुनी कार्यलाई नियन्त्रण गर्नका लागि नाकामा कुकुर परिचालन गरेर कडाई गरिएपछि सुरक्षा व्यवस्था थप सुदृढ भएको प्रष्ट पारे । 

नाकामा तालिम प्राप्त कुकुर परिचालनले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुन कार्यान्वयनमा थप मजबुती आउने विश्वास सर्वसाधारणले गरेका छन् । नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले पछिल्लो समय नेपालगन्ज र सो वरिपरिका धेरै क्षेत्र लागु औषध विक्री र सेवनको प्रमुख केन्द्र बन्दैगएको अनुभूति हुन थालेकोमा गहिरो चिन्ता व्यक्त गरे । 

उनले लागुऔषध ओसार–पसार नियन्त्रणका लागि नाकामा कुुकुर परिचालन गरिनु निकै सराहनीय कार्य भएको बताए । सीमापारी भारततर्फ भारतीय सुरक्षा निकाय एसएसबीले गत लामो समयदेखि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैआएको छ । तर, नेपालतर्फको जमुनाहा नाकामा यसअघि कहिलेकाँही बिशेष अवसरमा मात्रै कुकुर परिचालन गर्ने गरिएको थियो । 

हाल आएर नेपालतर्फको नाकामा पनि कुकुर परिचालन गरेर चेकजाँचलाई निरन्तर थप कडा र प्रभावकारी बनाउने कार्य गरिएको छ ।

प्रतिक्रिया