नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगञ्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा नेपालगञ्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो । तर आगामी आर्थिक २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरिएको छ ।
गत तीन आर्थिक वर्षमा लगातार नेपालगञ्जको बजेट घट्दै गएको देखिएको छ । आगामी आर्थिक २०८१/०८२ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३५ करोड रुपियाँ कम रहेको छ ।
नोपलगञ्ज उपमहानगरको सोमबार सुरु भएको नगरसभाको १५औं अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८१÷०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरे ।
उपमहानगरलाई सङ्घीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत २७ करोड ९५ लाख, राजस्व बाँडफाँटबाट १९ करोड ११ लाख ३३ हजार, समपूरक अनुदान एक करोड प्राप्त हुने जनाइएको छ ।
यसैगरी, विशेष अनुदान एक करोड ५० लाख, सशर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण दुई करोड ५ लाख २१ हजार, राजस्व बाँडफाँट एक करोड ४३ लाख २६ हजार, समपूरक अनुदान एक करोड ४० लाख र विशेष अनुदान एक करोड ५० लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।
यसैगरी, घरजग्गा रजिस्ट्रेशनबाट ११ करोड, आन्तरिक स्रोतबाट २० करोड ११ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात एक करोड ५० लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।
यसअघि सो १५ औं नगरसभामा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगरसभाका सदस्य तथा वडाध्यक्षहरु गोपाल पुन, कौशल कुमार धोबी, दिपक बर्मा, राज कुमार साहु, प्रमोद रिजाल र उपमहानगरका कार्यकारी प्रमुख ओम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार