नेपालगञ्ज : भूकम्पको अत्यधिक जोखिममा रहेका नेपालगञ्ज उपमहानगरका दुई वटा वडाका पुराना र जिर्ण अवस्थामा रहेका १५१ वटा आवासीय घरको बीमा गरिएको छ ।
नेपालगञ्जको सबैभन्दा पुरानो बस्ती वडा नम्बर तीन र सातका अत्यधिक घरहरु जिर्ण र भूकम्पको अत्यधिक जोखिममा रहेकाले सबै आवासीय घरहरुको बीमा गर्ने योजना अनुसार हालसम्म १५१ वटा घरको बीमा नेपालगञ्ज उपमहानगरपालिकाले गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले देशमै पहिलो पटक यस प्रकारको बीमा कार्यक्रम नेपालगञ्जमा गरिएको दावी गर्दै पहिलो चरणमा दुई वटा वडाका करिब ७५० घरमध्ये १५१ वटा आवासीय घरको बीमा गरिएको बताए । अहिले बीमामा दुई वडामध्ये नेपालगञ्ज तीनका १०९ र सातका ४२ घर समेटिएका छन् ।
विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएर बीमा कार्यक्रम सुरु गरिएको जनाउँदै उनले बीमा बापत लाग्ने सबै रकम उपमहानगरले तिरेको र आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई ठुलो राहात तथा सहयोग हुने बताए । प्रमुख बिष्टले भने, ‘भूकम्प, बाढी तथा डुबान र आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिने विश्वास गरिएको छ ।’
उपमहानगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले उपमहानगरका धेरै पुराना घरहरु भूकम्प, हावाहुरी र आगलागिको अत्यधिक जोखिममा रहेकोले विपद् दुर्घटना बिमा र आवास बीमा कार्यक्रम अगाडि बढाइएको बताए ।
आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय बिमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलका अनुसार १५ लाख रुपैयाँको बीमा गर्दा ५८४ रुपैयाँ वार्षिक प्रिमियम तिर्नु पर्दछ । बिमा भएका घरमा पाँच जनासम्मको लागि जनही सात लाख रुपैयाँसम्मको बीमा समेत गरिएको जानकारी पौडेलले दिए ।
नेपालगञ्जको वडा तीन र सातमा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम अत्यधिक रहेको छ । त्यहाँ रहेका अधिकांश घरहरु जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएकोे उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्जमा सञ्चालनमा रहेको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सुपरअन्तर्गत आवासीय घरहरुको बीमा लगायत विपदबाट सचेतना जगाउने बिभिन्न कार्यक्रम निरन्तर हुँदै आएको आपातकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार