Listen LIVE

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम असोजभित्रै सम्पन्न गरिने

सुर्खेत : नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम आगामी असोज महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई सुचारु गर्न प्राधिकरणले पहल गरेको छ । 

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले कर्णालीवासीले भोग्दै आएको विद्युत् समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको जानकारी दिए ।

‘आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पुरा हुनेछ,’ बुधबार सुर्खेत आएका उनले मुख्यमन्त्री यामलाल कँडेलसँगको छलफलमा भने ।

प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् । 

सो क्षेत्रमा तीनवटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ । स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न शाक्य बाँके पुगेका थिए ।

स्थानीयका समस्या के छन्, त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत् पु¥याउनेबारे हामीले छलफल गरेका छौँ,’ उनले भने,  ‘समाधानका लागि भएका प्रयासहरू सकारात्मक छन् ।’

अवरोध हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय राजनीतिक दलका नेतृत्वहरूसँग प्राधिकरणको टोलीले छलफल गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया