पाल्पा : पाल्पामा भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आठ करोड रुपैयाँको कारोबार भएको छ । रामपुरमा १३ दिनसम्म सञ्चालन भएको महोत्सव अवधि भरमा आठ करोड रुपैयाँ बराबरको कारोबार भएको सङ्घले जनाएको छ ।
सङ्घको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ देखि २७ गतेसम्म रामपुर नगरपालिका –५ बेझाँडमा मेला सञ्चालन भएको थियो । “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नारासाथ भएको मेलामा दुई लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।
उनले भने, “मेला अपेक्षा गरेको भन्दा धेरै उपलब्धिसहित सम्पन्न भएको छ । कालीगण्डकी बेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्न मेलाले महत्त्वपूर्ण योगदान दिएको छ ।” चौथो संस्करणको मेलाको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासीका दुई लाख बढी सर्वसाधारणले मेलाको प्रत्यक्ष अवलोकन गरेको मेलामा आठ करोड बढीको कारोबार भएको बताए ।
महोत्सवमा भएको कारोबारले आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग गरेको बताए । समिक्षा बैठकपश्चात सङ्घले टिकट बिक्रीबाट ७७ लाख ५९ हजार ३ सय रुपैयाँ टिकट बिक्रीबाट आम्दानी गर्न सफल भएको जनाएको छ । मेला सञ्चालनको क्रममा भएको आम्दानी र खर्च फागुन ७ भित्र पेस गर्न उपसमितिलाई आग्रह गरेको सङ्घका महासचिव खिमबहादुर केसीले बताए । लेखापरीक्षण पश्चात आम्दानी खर्च सार्वजनिक गर्ने सङ्घले जनाएको छ ।
मेलामा स्थानीय कृषिउपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिइएको थियो । अटो मोबाइल, प्रतिष्ठित उद्योगबाट उत्पादित सामग्री, स्थानीय उत्पादनसहितको चार सय बढी बिक्री स्टल, बालउद्यान, सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री, अन्डरवाटर फिस टनेल, राष्ट्रियस्तरको क्लबहरूको उपस्थितिमा भलिबल प्रतियोगिता मेलाको आकर्षणको रूपमा रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार