बर्दिया : बाघ गणना अन्तिम चरणमा पुगेपछि बर्दियामा बाघको आहारा प्रजातिको गणना भइरहेको छ । निकुञ्जभित्र रहेका बाघको आहारा जरायो, बाह्रसिङ्गे, चित्तल, लगुना, रतुवा, बँदेल, बाँदरलगायत प्रजातिका वन्यजन्तुको गणना गरिन थालिएको हो ।
आहार प्रजातिको गणनासँगै बाघको सङ्ख्याको अनुपातमा आहारा प्रजाति उपलब्ध छन् की छैनन् भन्ने अध्ययन हुने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । आहारा प्रजाति बढाउनका लागि निकुञ्जमा घाँसे मैदानको व्यवस्थापन समेत गर्ने गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले आहारा प्रजातिका लागि चाहिने घाँसे मैदान, पानीलगायतको प्राकृतिक स्रोतसाधन भए/नभएको समेत अनुगमन गरिने बताए । उनले बाघको आहाराको अवस्था पत्ता लगाउनु नै मुख्य उद्देश्य रहेको बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले एक साताअघिदेखि शुरु गरिएको गणना अझै एक साता चल्ने जानकारी गराए । उनले गणनाका लागि पाँच वटा हात्ती, करिब ५० जना जनशक्ति र आवश्यकता अनुसार केही सवारीसाधनसमेत परिचालन गरिएको बताए । बाघको आहारा प्रजातिको अवस्था र खाद्य सन्तुलनको अवस्थाको पहिचान हुने उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनाको अन्तिम परिणाम भने प्रकाशित भएको छैन । विगतको तुलनामा बाघको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । २०७९ सालमा गरिएको बाघ गणनामा १२५ ओटा बाघ फेला परेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार