नेपालगञ्ज : बाँकेमा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवनलाई प्रभावकारी बनाउन रातिमा औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ ।
नेपालगञ्जका धार्मिक संस्था र अगुवाहरुले औषधि सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । नेपालगञ्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल हुने कुरामा चुनौती देखिएपछि स्वास्थ्यकर्मीहरु रातिमा घर–घरमा पुगेर औषधि खुवाइरहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले नगरकै जनतालाई यो औषधिकाबारे बुझाउन नसकिएकाले थप चुनौती रहेको बताइन् । ‘बिहान घरमा पुगौं मान्छे भेटिँदैनन् । कोही काममा जान थालेका हुन्छन् कोही साँझ औषधि खान्छौं भनेर भाग्छन्,’ उनले भनिन्,‘ त्यसैले रातभरी बसेर भए पनि औषधि खुवाउने अभियान सुरु गरेका हौं ।’
बिहीबार राति ७ बजेदेखि बाँकेको बिर्ता पुगेर १६२ र पुरैनामा ९२ जनालाई औषधि खुवाइएको गौतमले बताइन् । जनप्रतिनिधिहरु नै आवश्यक सहयोग नगर्दा अभियान सफल पार्न चुनौती उत्पन्न भएको उनकफ भनाइ छ ।
बिहीबारसम्म बाँकेको नेपालगन्जमा २७ प्रतिशत, नरैनापुरमा ४० दशमलव ९ प्रतिशत, डुडुवामा ४२ दशमलव ४ प्रतिशत, बैजनाथमा ३२ प्रतिशत कभरेज भएको छ ।
नेपालगञ्जमा फागुन ५ गतेबाट अरु पालिकामा फागुन ७ गते बाट औषधि खुवाउन थालिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको छ ।
यसअघि १३ पटकसम्म औषधि खुवाउने अभियान असफल भएपछि यसपटक बाँके जिल्लामा मात्रै १४ औं पटक सो अभियान सञ्चालन गरिएको हो । यस पटक ८० प्रतिशतले औषधि खाएनन् भने नेपाललाई सन २०३० सालमा हात्तीपाइले रोग मुक्त घोषणा गर्न सम्भव नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताए ।
‘यहाँका केही समुदायका नागरिकहरुले औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १४ वर्षदेखि जारी छ । जसका कारण हात्तिपाइले रोग निवारणमै चुनौती थपिएको छ,’ उनले भने, ‘औषधि खानेले खाइरहने र नखानेले नखाइदिने गरेका कारण अभियान प्रभावकारी हुन सकिरहेको छैन ।’
नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । सन् २०२० मा यो अभियान १३ जिल्लामा सीमित रहृयो । बाँकेमा सन् २०१० (वि.सं. २०६७) देखि अभियान सुरु भए पनि अहिलेसम्म लक्ष्य पूरा हुन सकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार