नेपालगञ्ज : तिहार र दिपावलीमा यस वर्ष नेपालगञ्जमा माटोको दियो र अन्य भाडाको बिक्री गत वर्षभन्दा बढी भएको माटोको भाडा बनाउने कुम्हालहरुले जनाएका छन् । माटोको दियो र अन्य भाडाको बिक्री बढेकाले यसपटक तिहार र दिपावली अतिनै राम्रो भएको नेपालगञ्ज–३ का कुम्हाल रमेश कुम्हालले बताए । उनले यसपटक दियोको माग अत्यधिक रहेकाले पनि बिक्री धेरै भएको बताए ।
उनले आधुनिकता र नयाँ–नयाँ भाडाको चलनले माटोको भाडाको बिक्री घट्दै गएको बेला यसपटक निकै राम्रो बिक्री भएपछि पेशालाई निरन्तरता दिन सहज हुने बताए । नेपालगञ्ज–१३ का दिनेश कुम्हालले पनि यसवर्ष माटोका दियो, भुर्की र पालाको माग अत्यधिक रहेको जनाउँदै बिक्री विगतका वर्षहरुमा भन्दा राम्रो भएको बताए । उनले धेरैले त घरमै आएर खरिद गरेको जनाउँदै त्रिभुवन चोकमा तीन दिनसम्म निकै राम्रो बिक्री भएको बताए ।
गत तीन महिनादेखि बनाएका अधिकांश माटोका भाडाहरु यो तिहारमा बिक्री भएको दिनेशको भनाइ छ । तिहार र दिपावलीका लागि त्रिभुवन चोकमा फुटपाथमा माटोका भाडाहरु राखेकी नेपालगञ्ज–७ का जमिला बानुले यसपटक सोचेभन्दा बढी बिक्री भएको जनाइन् । तिहार र छठजस्ता ठुला चाडपर्वमा माटोको दियोको माग सबैभन्दा बढी हुने गरेकाले कुम्हाल समुदायमा भाडा बनाउनेहरु दियो र भुर्की बनाउन दुई महिना पहिलेदेखि नै निकै व्यस्त थिए ।
तिहारको बेला दियो सबैभन्दा बढी बिक्री हुने गरेकाले अधिकांशले दियो नै बढी बनाएका थिए । तिहार, दिपावली तथा छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्याधिक हुने गरेको छ । नेपालगञ्जको सदरलाइन, त्रिवेणी मोड र त्रिभुवन चोकमा यसपटक माटोका भाडाका धेरै पसलहरु राखिएका थिए । घरबाटै समेत कुम्हार समुदायले दियो र भुर्की लगायत माटोका भाडा ठुलो सङ्ख्यामा बिक्री गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार