दाङ : यहाँको तुलसीपुर उपमहानगरपालिका १८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सोही वडाको जय श्री हनुमान फिक्स चिम्नी इँटा उद्योगमा तीन वर्षदेखि काम गरिरहेकी मगरले दैनिक रु सात सयदेखि एक हजारसम्म आम्दानी गर्दै आएकी छन् । “पहिले घरमा खाना समेत पुग्ने अवस्था थिएन”, उनले भनिन, “तर, अहिले इँटा उद्योगमा काम गर्न थालेपछि सहज भएको छ ।” उनी सोही उद्योगमा इँटा बोक्ने काम गर्छिन् । मगरले भनिन, “२८ वटा इँटा बोकेपछि रु छ पाइन्छ । यसरी दिनभरि बोक्दा सोही कमाई हुन्छ । इँटा बोकेर आएको रकमबाट दुई छोरा, दुई छोरीलाई पालनपोषण र पढाई लेखाइ गराइरहेकी छु ।”
रोल्पा रुन्टीगढी गाउँपालिका–८ निवासी नरबहादुर परियारलाई पनि सोही इँटा उद्योगले स्वरोजगार बनाएको छ । उनी त्यही उद्योगमा इँटा बोक्ने काम गर्न थालेको पाँच वर्ष भयो । उनले एक याममा रु दुई लाख ५० हजारसम्म कमाउने गरेको बताए । “विगतका वर्ष असोजदेखि असारसम्म उद्योग सञ्चालन हुने गथ्र्यो । तर, अहिले बर्षातमा पनि सञ्चालन भएकाले अलि बढी आम्दानी गर्न सकिने आशा छ”, उनले भने ।
विगतमा एक सिजनमा करिब रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जनाउँदै परियारले अहिले बर्सातमा पनि उद्योग सञ्चालन भएकाले आम्दानी पनि बढ्ने बताए । उनले दैनिक रु एक हजारदेखि रु एक हजार ८०० सम्म आम्दानी गर्दै आएका छन् ।
कैलालीका रामदयाल चौधरीले पनि काँचो इँटा बनाउने काम गरिरहेका छन् । उनीसँगै श्रीमतीलाई पनि सोही काममा लगाएका छन् । श्रीमान् र श्रीमती दुवै जनाले गरेर दैनिक रु एक हजार ५०० देखि रु दुई हजारसम्म आम्दानी गर्छन् । एउटा इँटा बनाएर एक रुपैयाँ ३० पैसाका दरले पाउने गरेको उनले बताए ।
उनीहरू मात्रै होइन तुलसीपुर–१८ विजौरीको जय श्री हनुमान इँटा उद्योगमा एक सय ५० बढीले यसरी काम गरेर आम्दानी लिइरहेका छन् । तीमध्ये अधिकांश दाङवासी रहेको उद्योगका सञ्चालक मोहन घर्तीले बताए । “हामीले स्थानीयस्तरमा रोजगार सिर्जना गर्ने उद्देश्य राखेका छौँ”, उनले भने, “नेपालीले गर्न सक्ने कामहरू नेपालीले नै गरिरहनुभएको छ, तर, केही प्राविधिक कामहरूका लागि भने बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ ।”
उनका अनुसार इँटा बोक्नेमा ४०, काँचो इँटा बनाउनेमा ६०, प्रशासनिक काम गर्ने चार, गाडी चालक, सहचालक २६ र रावेश म्यान चार जनाले काम गरिरहेका छन् । त्योबाहेक इँटा पोल्ने काममा कामदार भारतबाट ल्याइएको बताए । त्यो काम गर्नका लागि भारतबाट १६ जना कर्मचारी ल्याइएको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार