Listen LIVE

भीमसेन मेट्रो अस्पताल अझै पूर्ण रूपमा सञ्चालन हुन सकेन

दाङ : कोरोना सङ्क्रमणकालमै स्थापना भएको तुलसीपुर भीमसेन मेट्रो अस्पताल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थानीय सरकारले सञ्चालनमा ल्याएको अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्नका लागि प्रदेश सरकारसँग स्वीकृति लिनु पर्छ । 

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको भीमसेन मेट्रो अस्पतालमा शल्यक्रिया र प्रसूति सेवाका लागि विशेषज्ञ जनशक्ति र उपकरण पर्याप्त छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहुले सर्जरी, सर्जरी स्क्रिनिङलगायत विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण पर्याप्त रहेको बताए । 

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी प्रदेश सरकारसँग स्वीकृतिका लागि माग गरिएको जनस्वास्थ्य प्रवर्धन महाशाखाका प्रमुख ओमप्रकाश न्यौपानेले बताए । उनले १५ शय्याको अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनका लागि प्रदेश सरकारबाट स्वीकृतिको पर्खाइमै रहेको बताउनुभयो । सर्जरीसम्बन्धी विशेषज्ञ सेवाका लागि अनुमति मागेको उनले बताए । “शल्यक्रियासहितको विशेषज्ञ सेवा प्रदान गर्न प्रदेश सरकारले अनुमति दिनेबित्तिकै सुरु हुन्छ,” उनले भने, “संरचना सबै तयार भइसकेको छ ।” 

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले भीमसेन मेट्रो अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालनका लागि नगर सभाबाट ऐन पारित गरी दरबन्दीसमेत व्यवस्थापन गरिएको बताए । उनले विशेषज्ञ सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीलाई समेत स्वीकृति प्रदानका लागि अनुरोध गरिएको बताए ।

नगरप्रमुख खड्काले पालिकाबाट मेट्रो अस्पतालमा बिमा कार्यक्रम कार्यान्वयनका लागि बजेटसमेत व्यवस्था गरिएको बताए । उनले नगरवासीमध्ये विपन्न, गरिब भए निःशुल्क र अन्यका लागि न्यून शुल्कमा सेवा दिनका लागि पालिकाले आफ्नै अस्पताल सञ्चालनमा ल्याएको बताए । 

अस्पतालको दुईतले पक्की भवन छ भने इमर्जेन्सी सेवा, फर्मेसी, ल्याब, एक्सरे, भिडियो एक्सरे, ओपिडी, सामान्य प्रसूति कक्ष सुविधासम्पन्न छन् । विशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने योजना लगभग अन्तिम चरणमा पुगेकाले सुविधासम्पन्न अपरेसन थिएटर, महिला, पुरुषका लागि छुट्टाछुट्टै वार्ड, बालबालिकाका वार्डलगायत पूर्वाधार निर्माण गरिएको छ ।

प्रतिक्रिया