Listen LIVE

धन्वन्तरी जयन्तीमा नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम

नेपालगञ्ज : धन्वन्तरी जयन्ती तथा आरोग्य दिवसको अवसरमा आइतबार नेपालगञ्जमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वन–जंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मजयन्तीको स्मरणमा देशभर विविध कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपालगन्ज उपमहानगरपालिका शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले योग समिति नेपाल र पतन्जली योग समिति बाँकेसँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली, आयुर्वेदको महत्व र रोग प्रतिरोधात्मक क्षमताको संवर्धनका विषयमा धारणा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले हाल जन्मन साथ एन्टिबायोटिक सेवन गर्नुपर्ने अवस्था देखापरिरहेको उल्लेख गर्दै स्वस्थ जीवनका लागि सचेत बन्न आग्रह गरे । उनले भने, “स्वस्थ जीवनका लागि योग र प्राकृतिक अभ्यासलाई दैनिक जीवनमा अपनाउन आवश्यक छ ।” मेयर विष्ट भन्छन्, “स्वस्थ मानिसले मात्र आफू र देशका लागि योगदान दिन सक्छ, त्यसैले स्वास्थ्यप्रति संवेदनशील हुनु अहिलेको आवश्यकता हो ।”

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ का अध्यक्ष गोपाल पुन, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.आलोक पाण्डेय, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका आयुर्वेद शाखा प्रमुख डा.शिवराज सुवेदी, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सचिव वसन्त गौतम लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।

वैदिक सनातन ग्रन्थका अनुसार देव र असुरले नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा कार्तिक कृष्ण त्रयोदशीका दिन भगवान धन्वन्तरी अमृत कलश सहित प्रकट भएको उल्लेख छ । यही दिवसलाई आयुर्वेद चिकित्सकहरूले सत्सङ्कल्प ग्रहण गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा मनाउने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया