नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८१–८२ मा ७४ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ । जमुनाहा नाकाबाट आयातको तुलनामा अति नै न्यून परिमाणमा निर्यात भएकाले यस नाकाबाट ७४ अर्ब ३२ करोड ३२ लाख ३० हजार रुपैयाँको व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार गत आवमा आयातनिर्यातको तुलना गर्दा यो नाकाबाट ९६ प्रतिशत व्यापार घाटा भएको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आवमा नेपालगञ्ज नाकाबाट ७७ अर्ब ५३ करोड आठ लाख ७१ हजार रुपैयाँको आयात भएकोमा तीन अर्ब २० करोड ७६ लाख ४१ हजार रुपैयाँको मात्र निर्यात भएको जानकारी दिए ।
उनका अनुसार अघिल्लो आव २०८०–०८१ मा नेपालगञ्ज नाकाबाट ७० अर्ब २१ करोड ५९ लाख चार हजार रुपैयाँको आयात भएकोमा दुई अर्ब ४१ करोड ९० लाख ८३ हजार रुपैयाँको निर्यात हुँदा ६७ अर्ब ७९ करोड ६८ लाख २१ हजार रुपैयाँ अर्थात् ९७ प्रतिशत व्यापार घाटा भएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा एक प्रतिशत मात्र व्यापार घाटा घटेको पाइएको छ ।
भन्सार कार्यालयका प्रमुख पौडेलले यो नाकाबाट निर्यात एकदमै न्यून हुँदा यति धेरै व्यापार घाटा देखिएको जनाउँदै निर्यात बढाउने र आयात घटाउने अभियानमा सबै उद्योगी व्यवसायी लाग्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा स्थानीय व्यापारी अब्दुल वाहिद मन्सुरीले सरकारले निर्यातलाई बढाउने र आयातलाई घटाउने गरी नीति र योजना नबनाएसम्म व्यापार घाटा यस्तै रहने बताए ।
उनले यस नाकाबाट सबैभन्दा बढी जडीबुटीको निर्यात हुने गरेकोमा जडीबुटी निर्यातलाई सरल र सहज बनाउँदै लैजानुपर्ने समेत माग गरे । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा कपडा व्यवसायी नन्दलाल वैश्यले आयात घटाउँदै निर्यात वृद्धि गर्ने उद्देश्यका साथ नेपालगञ्ज नाकामा आइसिपी सञ्चालनमा ल्याए पनि अपेक्षा गरे अनुसार निर्यात बढ्न नसक्नु दुःखद भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार