बर्दिया : नेपाल–भारत सीमा नाकामा आउजाउ गर्दा अब आधार कार्डलाई मात्र पर्याप्त परिचयपत्रका रूपमा मान्यता नदिने भएको छ । भारतमा नक्कली आधार कार्ड बनाएर बंगलादेशी, रोहिंगियालगायत तेस्रो मुलुकका नागरिकलाई अवैध रूपमा नेपाल प्रवेश गराउने प्रयास बढेको भन्दै रासन कार्ड वा बैंकिङसम्बन्धी कागजातसमेत हेर्ने नेपाल र भारतबीचको सुरक्षा बैठकमा सहमति भएको हो ।
बर्दियाको गुलरियास्थित सशस्त्र प्रहरी बल नम्बर ३१ गणमा भारतको बहराइचस्थित एसएसबीका सुरक्षा अधिकारीसँग भएको काउन्टर पार्ट बैठकमा यस्तो निष्कर्ष निकालिएको हो । बैठकमा भारतमा नक्कली आधार कार्ड बनाई तेस्रो मुलुकका नागरिकलाई सीमाबाट घुसपैठ गराउने गिरोह सक्रिय रहेकाले सीमा निगरानी कडा बनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आधार कार्ड नक्कली हुन सक्ने आशंका लागे रासन कार्ड, बैंकिङसम्बन्धी कागजातलगायत अन्य परिचयपत्रसमेत जाँच गरिने सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले बताए ।
बर्दियाको भारतसँग ८३ किलोमिटर खुला सीमा जोडिएको छ । त्यसमध्ये करिब ८० प्रतिशत क्षेत्र भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र घना जंगलले ढाकिएको छ ।
'सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ,' महतले भने, 'चेकजाँच कडा बनाएर अवैध घुसपैठ रोक्ने प्रयास भइरहेको छ।' सुरक्षाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण मानिएको बर्दियाको गणेशपुर र भारतको लौकाही नाकामा विशेष निगरानी राखिएको उनले बताए । दशगजामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भारतीय एसएसबीले नियमित संयुक्त गस्ती गर्दै आएका छन् । साथै, सीमा नाकाबाट आउजाउ गर्ने व्यक्तिको अभिलेख पनि राख्ने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार