Listen LIVE

पाँच बर्षदेखि अलपत्र सडकको काम सुरु

बर्दिया : पाँच बर्षदेखि अलपत्र रहेको राजापुर नगरपालिकाको मंगलपुरदेखि गेरुवा गाउँपालिकाको ओखरिया इन्टेक जोड्ने सडक थपिएको म्याद सकिन लाग्दा निर्माण कम्पनीले काम सुरु गरेको छ । 

२०८२ फागुनसम्म निर्माण सम्पन्न गर्नेगरी म्याद थपिएको सो सडकमा विगत २५ दिन यता निर्माणका काम भइरहेको छ । सडक निर्माणका लागि म्याद सकिन करिब साढे तीन महिना बाँकी छ । हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका अनुुसार हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । कुल बजेटको २५ प्रतिशत निर्माण कम्पनीले भुक्तानी लगिसकेको छ । 

२०७७ चैतमा २०८० असोजसम्म निर्माण सम्पन्न गर्नेगरी गेरुवा गाउँपालिकाको मुख्य सडक राजापुर नगरपालिकाको मंगलपुरदेखि गेरुवा गाउँपालिकाको ओखरिया इन्टेक जोड्ने सडक निर्माण सम्झौता भएको थियो । पटक पटक म्याद थप गर्दा समेत सडक निर्माण नगर्दा गेरुवाबासीले सास्ती बेहोरिरहेका छन् । 

२७ किलोमिटर सडक निर्माणका लागि ५३ करोड १२ लाख ६१ हजार रुपैयाँमा कान्छाराम राजेन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । विविध कारण देखाएर पटक पटक गरी २०८२ फागुनसम्म म्याद थप गरिएको थियो । निर्माण सम्झौता भएको पाँच बर्ष तीन महिनामा एक किलोमिटर समेत कालोपत्रे भएको छैन ।  चलनचल्तीको बाटोमा गत जेठदेखि गिट्टी थुपारेर स्थानीयलाई सास्ती दिएको गेरुवा गाउँपालिका वडा ६ नौरंगाका परशुराम चौधरीले बताए । 

पाँच बर्ष वित्दासम्म काम नगरेको ठेकेदारले अब काम गर्छ भन्ने आशा नभएको गेरुवा गाउँपालिका –१ थापापुरका नुतन चौधरीले बताए । उनले भने, “ठेकेदारले गेरुवालाई वर्षौँ पछाडि धकेलेर छोड्यो । अब पनि म्याद थप्यो भने न सडक बन्छ न गेरुवा बन्छ ।” म्याद सकिनै लाग्दा काम गरेजस्तो गरेर पुनः थप्ने योजनामा ठेकेदार रहेको उनको भनाइ छ ।  

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले अब साढे तीन महिनामा सडक बन्छ भनेर आशा गर्न नसकिने बताए । सरकारले लगानी गरेपनि ठेकेदारले काम नगर्दा जनताले दुःख पाएको बताए । 

हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले पटक पटक पत्र काटेर सडक निर्माणको लागि ताकेता गर्दागर्दै हैरान भएको बताए । उनले पछिल्लो २५ दिन यता निर्माण कम्पनीले सन्तोषजनक रुपमा काम अगाडि बढाएको बताए । उनले भने, “काम सुरु गरेपछि दैनिक रिपोर्ट लिएका छौँ, अझै १५ दिन जति हेर्छौ काम चित्तबुझ्दो नभएमा निर्माण सम्झौता रद्द गर्ने प्रक्रिया सुरु गर्छौ ।” 

सडक निर्माणको जिम्मा लिएको राजेन्द्र निर्माण सेवाका प्रोप्राइटर डडेल्धुराको भिमबहादुर साउँदले म्यादभित्र सडक निर्माण गर्नेगरी काम गरिरहेको दाबी गरे । उनले बिचमा कुनै बाधा अवरोध नआएमा फागुनसम्ममा सडक निर्माण गरिसक्ने बताए ।

प्रतिक्रिया