Listen LIVE

बर्दियामा 'प्रदर्शनी तथा ग्यालरी कार्यशाला गोष्ठी कार्यक्रम' सम्पन्न

नेपालगञ्ज : बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको 'प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला गोष्ठी कार्यक्रम' मधुवन–१ मा सम्पन्न भएको छ ।

ग्रीन इकोनोमी परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारी तथा राजापुर नगरपालिका एवं ठाकुरबाबा नगरपालिकाको समन्वयमा सो कार्यशाला संचालन गरिएको हो । 

बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य युवा महिला उद्यमीहरूले संचालन गरिरहेका हरित उद्यमहरूको प्रवद्र्धन, प्रदर्शन तथा सुदृढीकरण गर्नु रहेको थियो । सो कार्यक्रममार्फत उद्यमी, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच अनुभव आदानप्रदान, संवाद तथा स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने प्रयास गरिएको जनाईएको छ । 

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ५, ६, ८ र १० तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ३, ४ र ५ का वडा अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो । त्यस्तै नगरपालिकाका उद्यम विकास शाखा, रोजगार शाखा तथा पशु सेवा शाखाका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको कार्यक्रममा राजापुर र ठाकुरबाबा नगरपालिकाका युवा महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात ग्रीन इकोनोमी परियोजनाका परियोजना अधिकृत राधे थारुले गरेका थिए भने स्वागत मन्तव्य फिल्ड सुपरभाइजर सञ्जिता रिजालले राखेकी थिइन् । कार्यक्रमको सहजीकरण विनय दिल लामाले गरेका थिए ।

कार्यक्रममा हरित उद्यमको अवधारणा, यसको महत्व तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सफल अभ्यासबारे प्रस्तुति गरिएको थियो । साथै युवा उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रत्यक्ष प्रदर्शनी तथा अवलोकन पनि गरिएको थियो । खुला छलफलमार्फत उद्यमीहरूले आफ्ना व्यवसायसम्बन्धी अनुभव, नाफा–नोक्सान, उत्पादनको बजारीकरण, चुनौती तथा अवसरका विषयमा विचार आदानप्रदान गरेका थिए ।

राजापुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगर प्रवक्ता असराज न्यौपानेले स्थानीय रूपमा उपलब्ध बेत, बाँस तथा अन्य स्रोतसाधन प्रयोग गरी तयार गरिएका हस्तकलाका सामग्रीहरूको प्रशंसा गर्दै यस्ता उत्पादनले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले यस्ता सीपमा आधारित साना उद्यमहरूले महिलालाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना र आयआर्जनमा सहयोग पुगेको उल्लेख गरे ।

त्यसैगरी ठाकुरबाबा नगरपालिकाका रोजगार शाखा संयोजक रविन्द्र अर्यालले स्वरोजगार कोषमार्फत व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण ऋण उपलब्ध हुने जानकारी दिए । उनले यस्ता अवसरले स्थानीय उद्यमलाई प्रोत्साहन गर्दै युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष पञ्चम गुरुङले युवा उद्यमीहरूले डिजिटल माध्यमको प्रभावकारी प्रयोग गरी आफ्ना व्यवसायको प्रचारप्रसार र विस्तार गर्नुपर्नेमा जोड दिए । उनले डिजिटल प्लेटफर्ममार्फत व्यवसायको बजार विस्तार तथा ग्राहक पहुँच बढाउन सकिने उल्लेख गर्दै स्थानीय सरकारले समेत युवा उद्यमीहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया