Listen LIVE

बाँकेमा रगत अभाव, रक्तदान गर्न आग्रह

नेपालगञ्ज : जाडो अत्यधिक बढेसँगै बाँकेका विभिन्न अस्पतालमा फेरि रगत अभाव भएको छ । नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले रगत अभाग भएको भन्दै रक्तदातालाई रक्तदान गर्न आग्रह गरेको छ ।  

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले चिसोको मौसममा रक्तदान निकै कम हुने हुँदा रगत अभाव अत्यधिक बढेको जनाउँदै रक्तदान गर्ने सङ्घ संस्था र रक्तदातालाई अभाव टार्न अनुरोध गरिएको बताए । 

उनले सोही अनुरोधलाई स्वीकार गरेर केही सङ्घ संस्थाहरुले रक्तदान गरे पनि अभाव कायमै रहेको बताए । अझै रगत आवश्यक परेकाले अन्य सङ्घ संस्था र रक्तदातालाई पनि अनुरोध गर्दछौं, उनले भने । प्रमुख रेग्मीका अनुसार बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्त सञ्चार केन्द्रमार्फत रगत सङ्कलन र वितरणको काम हुँदै आएको छ ।

सङ्कलित रगतमध्ये अधिकांश नेपालगञ्जको भेरी अस्पताल र सञ्जीवनी अस्पताल तथा कोहलपुरको शिक्षण अस्पतालमा खपत हुने गरेको छ । सङ्कलनभन्दा माग सधैं बढी हुने गरेकाले रगतको अभाव निरन्तर हुनेगरेको प्रादेशिक रक्त सञ्चार केन्द्रले जनाएको छ । 

“पछिल्लो समयमा रक्तदान गर्नेको सङ्ख्या बढे पनि माग अत्यधिक भएका कारण पु¥याउन कठिन हुने गरेको छ । नेपालगञ्जमा दैनिक ६० देखि ७० पिन्ट, कोहलपुरमा १५ देखि २५ पिन्ट र खजुरामा आठदेखि १२ पिन्टसम्म रगतको माग हुने गरेको छ । चिसोको बेला रगत सङ्कलन नहुँदा समस्या भएको हो” प्रमुख रेग्मीले भने ।   

उनले सोही कारणले रक्त सञ्चार केन्द्रले विभिन्न सङ्घ संस्था र व्यक्तिसँग रक्तदानका लागि निरन्तर आग्रह गर्दैआएको बताए । रगत अभाव कम गर्न रक्तदान अभियानलाई झन तीव्र पार्न सङ्घ संस्था र दाताहरुसँग अनुरोध गरिएको केन्द्रले जनाएको छ । 

प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जका अनुसार गत आर्थिक वर्षमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा ११ हजार आठ पिन्ट रगत सङ्कलन भएकोमा १५ हजार ९०० पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया