नेपालगञ्ज : त्रिभुवन आर्मी क्लबका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठले दोस्रो नेपालगञ्ज १०–के म्युजिक नाइट रनको ट्रफी जितेका छन् ।
नेपालगञ्जमा शुक्रबार राति भएको नेपालगञ्ज १०–के म्युजिक नाइट रन ३२.१८ मिनेटमा पुरा गर्दै अंकल बहादुर पाल पुरुष तर्फ र ३९.९ मिनेटमा दौड पूरा गर्दै सन्तोषीले महिला तर्फको ट्रफी जितेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका गेटबाट शुरु भइ राँझा चोक पुगेर पुनः सोही रुट हुँदै बिपी चोकमा पुगेर दौड सम्पन्नभएको थियो ।
पुरुष तर्फ दोस्रो स्थान हासिल गर्ने बाँकेका भुपेन्द्र सुनारले ३३.०४ मिनेट र तेस्रो अरविन्द्र यादवले ३३.०८ मिनेटमा दौड पूरा गरे । १० किलोमिटर पुरुष तर्फ झरमान पुन चौथो र दिप परियारले पाँचौँ स्थान हासिल गरे ।
यसैगरी महिला तर्फ १० किलोमिटर दौड ४४.५८ मिनेटमा पार गर्दै दिपशिखा शाही दोस्रो र ५२।२७ मिनेट समय खर्चेकी गिता साहु तेस्रो भइन् । विद्यालयस्तरको ५ किलोमिटर दौडमा समीर श्रेष्ठ प्रथम, बसन्त माझी दोस्रो र नरेश कुँवर तेस्रो भए ।
धर्विन्द्र बम ठकुरी चौथो र सन्देश बुढाथोकी पाँचौँ स्थानमा रहे । समीरले पाँच किलोमिटर १७.११ मिनेट, बसन्तले १७.१३ मिनेट र नरेशले १५.५० मिनेटमा दौड पूरा गरेका थिए ।
विद्यालयस्तरको महिला तर्फ स्वतिका शाही प्रथम, अप्सरा बम ठकुरी दोस्रो, जनदेवी महतारा तेस्रो र चाहना शाह शाह चौथो भइन् । स्वतिकाले २०.०३ मिनेट, अप्सराले २१.२३ मिनेट, जनदेवीले २५.०६ मिनेट, चाहनाले ३७.३२ मिनेटमा दौड पूरा गरेकी थिइन् ।
विजयी खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतम, सदस्य डिबी तामाङ्ग, पुर्व सदस्य सचिव भीम ओली, खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओली र आयोजक रेस नेपालका प्रमुख टिएस ठकुरी लगायतले पुरस्कृत गरेका थिए ।
म्युजिक नाइट रन सङ्गीत र दौडमार्फत समाजलाई एकतामा बाँध्ने र शहरलाई चलायमान गराउने अभियानको रूपमा स्थापित भएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
नेपालगञ्ज १०–के नाइट रन विश्व रनिङको साझा संस्था एशोसिएशन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेस -एम्स)को पूर्णकालीन सदस्य हो ।
नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन भएको रेस डाइरेक्टर गुरुङले बताए । दौड अवधिभर भएको साङ्गीतिक कार्यक्रममा गायक सुनिल सिंह ठकुरी र स्थानीय विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
एम्समा आबद्ध दुईवटा रेस सञ्चालन हुने नेपालगञ्ज नेपालमा एकमात्र शहर हो । यसपटक नाइट रनमा १० किमी खुला पुरुष र महिला तथा पाँच किमि विद्यालयस्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ ।
गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर -बाँके)की गीताकुमारी साहु विजेता बनेका थिए । नेपालगञ्ज १०–के म्युजिक नाइट रन नेपालको पहिलो रात्रि दौड हो ।
स्वस्थ, सभ्य र सुरक्षित सहरको परिचय स्थापित गर्न नाइट रन शुरु गरिएको आयोजकले जनाएको छ । यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वल्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एसियाली र एसियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयोजक रेस नेपालका कोषाध्यक्ष सुमन बस्नेतले जानकारी दिए ।
धारा नेपालगञ्ज म्याराथनले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भुटान, बङ्गलादेशलगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार