Listen LIVE

सीपले बनायो हरिरामलाई आत्मनिर्भर

धनगढी : ख्याउटे ज्यान, चाउरी परेको मुहार । फिस्स हाँस्दा एउटा मात्र दाँत देखिन्छ । ७६ वर्षमा हरिराम चौधरीको जाँगर तन्नेरीभन्दा कम छैन । 

हस्तकलामा पोख्त चौधरीलाई सीपले यो उमेरमा पनि जाँगरिलो बनाएको हो । कैलारी गाउँपालिका –२ उजलीसेमरा गाउँका उनले बाँसको चोयाबाट छिटुवा (डालो) र डिलिया बनाउने काम गर्दै आएका छन् । आफूले बनाएको हस्तकलाको सामग्री चौधरीले आफै टोल–टोल डुुलेर धनगढीमा बिक्री गर्छन् । 

“जवान हुँदै मैले सीप सिके” धनगढीमा भेटिएका उनले भने, “अहिले खाली बस्नु परेको छैन । सीप नसिकेको भए सायद यो अवस्थामा मलाई बाँच्न गाह्रो हुन्थ्यो ।”

जवानीमा सिकेको सीपले चौधरीको ज्येष्ठ जीवनमा रङ्ग मात्र ल्याएको छैन, उनलाई आत्मनिर्भरसमेत बनाएको छ । आफूले बनाएको छिटुवा र डिलिया बिक्री गरेर उनले यो उमेरमा कमाइ गरिरहेका छन् । कमाउने भएकाले पैसाकै लागि कसैमा निर्भर हुनु परेको छैन । 

चौधरीले एउटा ठुलो छिटुवा ३५० र सानो छिटुवा ३०० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । यसैगरी, डिलिया दुई सयमा बिक्री गरेका छन् । छिटुवा अन्नपात, घाँस, तरकारीलगायत राख्न प्रयोग हुन्छ । डिलिया माछा राख्न प्रयोग गरिन्छ । 

गाउँ–गाउँ डुल्दै छिटुवा र डिलिया बेचेर आफूले मासिक पाँच–छ हजार रुपैयाँ आम्दानी गर्ने गरेको चौधरीले सुनाए । मासिक चार हजार सामाजिक सुरक्षा भत्ताबाट आउने रकम र आफूले हस्तकलाको सामग्री बिक्री गरेर कमाएको पैसाले ज्येष्ठ जीवनमा गुजारा गर्न सहज बनेको उनको भनाइ छ । 

“छिटुवा, डिलिया बेचेर धेरै कमाइ नभए पनि कसैसँग पैसा माग्नु परेको छैन” उनले भने, “म यो काम पहिल्यैदेखि गर्दै आएको छु । यसमा सन्तुष्ट छु ।” आफूले कमाएको पैसाबाटै कपडा, घडी किनेर लगाउने गरेको चौधरीको भनाइ छ । 

हस्तकला सामग्री बनाउनमा बूढापाकाहरु निकै पोख्त मानिन्छन् । घरमा यत्तिकै बस्नुभन्दा यस्ता काम गर्न रुचाउने गर्दछन् । फुर्सदका बेला आफूले धेरै छिटुवा र डिलिया बनाउने गरेको चौधरीले बताए । गाउँघरमा उनी धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

प्रतिक्रिया