नेपालगञ्ज : नेपाल तथा भारतबाट ठूलो संख्यामा आएका बोलबम यात्रीको सुरक्षालाई मध्यनजर गर्दै बाँकेको डुडुवा गाउँपालिका–कम्दीस्थित राप्ती नदी किनारमा सशस्त्र प्रहरीको विपद् उद्धार टोली रातभर तैनाथ रहेको छ ।
वर्षायामका कारण राप्ती नदीमा डुब्ने तथा बग्ने जोखिम हुनसक्ने भएकाले सम्भावित दुर्घटनालाई रोक्न विशेष उद्धार उपकरणसहित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत अस्थायी मनसुन प्रतिकार्य बेस फत्तेपुर कुण्डाको विपद् व्यवस्थापन टोली विशेष उद्धार उपकरणसहित राप्ती नदी किनारमा रातभर तैनाथ रहेको सशस्त्र प्रहरीले जनाएको छ । उक्त टोली अस्थायी मनसुन प्रतिकार्य बेस कुण्डाका इन्चार्ज सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमान्डमा परिचालन गरिएको थियो ।
सम्भावित नदीजन्य विपद्का बेला तत्काल उद्धार गर्न सकिने गरी आवश्यक उद्धार सामग्रीसहित टोलीलाई तयारी अवस्थामा राखिएको थियो । त्यस्तै, नदीमा डुबेका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण शम्शेरगन्जबाट गोताखोरको टोलीसमेत कम्दी क्षेत्रमा परिचालन गरिएको थियो ।
बोलबम यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका प्रमुख भीमबहादुर चन्द लगायतको उपस्थिति तथा निर्देशनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बाँकेका अनुसार बोलबम यात्रीहरू आइतबार साँझदेखि नै कम्दीस्थित राप्ती नदी किनारमा जम्मा भएका थिए । उनीहरूले रातभर भजन–कीर्तन गर्दै जाग्राम बसेका थिए ।
सोमबार बिहान भक्तजनहरूले राप्ती नदीमा स्नान गरी जल संकलन गरेर आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् । सुरक्षा व्यवस्थापन प्रभावकारी रहेकाले बोलबम यात्रामा सहभागी भक्तजनहरू सुरक्षित रूपमा धार्मिक गतिविधिमा सहभागी भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बोलबम यात्राका क्रममा राप्ती नदीमा ठूलो संख्यामा भक्तजन जम्मा हुने भएकाले सम्भावित डुब्ने, बग्ने तथा अन्य दुर्घटनाको जोखिमलाई ध्यानमा राखी यसपटक सुरक्षाकर्मीलाई विशेष उद्धार उपकरणसहित नदी किनारमा रातभर सतर्क अवस्थामा राखिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार