नेपालगञ्ज : दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरीले बाँकेमा गत एक महिनामा मात्रै एक हजार ७१३ सवारी साधनलाई कारबाही गरेको छ ।
गत जेठ महिनामा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७१३ वटा सवारी साधनलाई विभिन्न कारबाही गरेर १४ लाख ६१ हजार बढी राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले पश्चिम नोपलको केन्द्र मानिने बाँकेमा गत केही समययता सवारी दुर्घटना बढ्दै जाँदा मृत्यु र घाइते हुने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सो रोक्न निरन्तर अभियान सञ्चालन गरिरहेका बताए ।
उनले सोही क्रममा ठाउँ ठाउँमा नियमित गरिएको चेकजाँच र कडाईका कारण ट्राफिक नियम उल्लङ्घन गर्ने ठुलो संख्याका सवारी साधनहरु कारवाहीमा परेको बताए ।
सोही क्रममा उनले जेठ महिनामा मात्रै सवारी धनि नखुलेका १२१ वटा मोटरसाइकल र स्कुटरलाई लिलाम गरिएको जानकारी दिए । सो लिलामीबाट छ लाख १२ हजार रुपैयाँ राजश्व असुल भएको डिएसपी डाँगीले बताए ।
सोही प्रकारले दैनिक जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको ट्राफिक प्रहरीले जेठ महिनामा मात्रै २३० वटा सचेतनामुलक कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमअन्तर्गत बिभिन्न स्थानमा सवारी चालकहरुलाई रोकेर ट्राफिक नियम बारे जानकारी गराउने, सर्वसाधारणलाई समेत रोकेर उनीहरुलाई पनि सडक पार गर्ने तरिका र सडकमा हिड्ने साइड लगायतको तरिका सिकाउने तथा विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउने कार्य गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार