नेपालगञ्ज : बाँकेमा जेठ २३ र २४ गते तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ आयोजना हुने भएको छ ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घले प्रतियोगिताको तयारी पूरा भएको जनाउँदै नेपालगन्ज रङ्गशाला कभर्ड हलमा सञ्चालन हुने सो प्रतियोगितामा देशभरका महिला तथा पुरुष खेलाडी सहभागी हुने बताएको छ ।
बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घको आयोजनामा हुन लागेको सो प्रतियोगितामा इन्क्लाइन बेञ्च प्रेस, ह्याक लिफ्ट र टु ह्यान्ड बार्बेल कर्ल गरी तीन विधामा प्रतिस्पर्धा हुने बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घका अध्यक्ष विनी टण्डनले बताए । उनले प्रतियोगितामा नेपाल स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको संयोजन र वल्ड स्ट्रेन्थलिफ्टिङ फेडेरेसनको आबद्धता रहने जनाउँदै प्रत्येक खेलाडीलाई हरेक विधामा तीन–तीन अवसर दिइने बताए ।
अध्यक्ष टण्डनका अनुसार प्रतियोगितामा सब–जुनियर मेनतर्फ १३ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी हुने छन् । जुनियर मेनतर्फ १९ देखि २३ वर्ष उमेर समूहका खेलाडी रहने छन् । सिनियर मेनतर्फ ६० केजीमुनि, ६८ केजीमुनि, ७६ केजीमुनि, ८५ केजीमुनि र ८५ केजीमाथिका खेलाडीबिच प्रतिस्पर्धा हुने छ ।
त्यस्तै, मास्टर मेन–१ मा ४० देखि ५० वर्ष र मास्टर मेन–२ मा ५० वर्षमाथिका खेलाडी रहने छन् । सिनियर विमेनतर्फ ६० केजीमुनि र ६० केजीमाथि दुई समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
राष्ट्रियस्तरका खेलाडीलाई एउटै मञ्चमा ल्याएर प्रतिस्पर्धा गराउनु मुख्य उद्देश्य रहेको प्रष्ट पार्दै बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घका सचिव चन्द्रशेखर थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने जानकारी दिए ।
प्रतियोगितालाई थप आकर्षक बनाउन नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएका ओलम्पियन खेलाडीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ ।
सचिव थापाका अनुसार, सम्मानित हुने खेलाडीमा सन् १९८४ को २३औं ओलम्पिक लस एन्जलसमा सहभागी सुरेन्द्रबहादुर हमाल, सन् १९८८ को २४औं ओलम्पिक सियोलमा सहभागी पार्वती थापा, सन् १९९२ को २५औं ओलम्पिक बार्सिलोनामा सहभागी अनिता श्रेष्ठ र सन् २०२० को ३२औं ओलम्पिक टोकियोमा सहभागी सोनिया भट्ट रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार