हुम्ला : नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीमा (बिओपी) थप बलका लागि जनशक्ति थपिएको छ । सरकारको पछिल्लो निर्णय र निर्देशनअनुसार जिल्लामा भएको जनशक्तिबाट सीमानाका हिल्सामा पठाइएको हो ।
सरकारले सीमा क्षेत्रका नाकामा सुरक्षा व्यवस्था कडा र प्रभावकारी बनाउन जनशक्ति थप गर्ने निर्देशन दिए अनुसार हुम्लाको सशस्त्र प्रहरी बल ४४ नं. गुल्म सिमकोटले सो निर्देशन कार्यान्वयन गर्दै नौ जना जनशक्ति सिमकोटबाट हिल्सातर्फ पठाएको सशस्त्र प्रहरी नायब उपरीक्षक शङ्करसिंह ऐरले बताए ।
थप जनशक्तिलाई गाडीमा नारा लेकसम्म पठाएको र नारा लेकबाट हिल्सातर्फ सडकमा हिउँ जमेका कारण सो टोली पैदलै हिल्सामा पुग्ने छ । हाल सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २६ जना जनशक्ति हिल्सामै छन् । त्यसमा थप जनशक्ति गुल्मबाट पठाएपछि हिल्सामा अब जनशक्ति ३५ जना पुगेको छ ।
हिल्सा नाकामा सुरक्षा व्यवस्था कडा गर्न यो जनशक्ति गुल्मबाट घटाएर पठाइएको उनले बताए । उनले भने, 'थपिएको जनशक्तिका साथै बिओपी हिल्सालाई सीमा सुरक्षाका साथै अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।'
बिओपी हिल्साले हिल्साबाट किट क्षेत्रका सीमास्तम्भको दैनिक अनुगमन गर्ने कार्यका साथै सिमानामा पनि सुरक्षा दिने गरेका छन् । जनशक्ति थप भएपछि हिल्साबाट हाल एउटा टोलीले सीमास्तम्भको अनुगमन गरिरहेको अवस्थामा अब दुई टोलीले अनुगमन गर्न शुरु गर्ने जानकारी उनले दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार