Listen LIVE

नेपालगञ्ज भन्सारको स्क्यानर मेसिन ६ वर्षदेखि प्रयोग विहीन

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयको ‘लगेज स्क्यानर मेसिन’ प्रयोगविहीन भएको छ । जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ भएपनि बिग्रिएर प्रयोविहीन भएको हो । मेसिनले काम नगर्दा यात्रु र भन्सार कर्मचारी दुवैलाई समस्या भइरहेको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटो बनाउनका लागि २०७४ सालमा राखिएको मेसिन ६ वर्षदेखि बिग्रिएर प्रयोगविहीन बनेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार जमुनाहा नाकामा २०७४ सालमा स्थापना गरिएको यो मेसिन दुई वर्षसम्म मात्र सञ्चालनमा रहेको थियो । त्यसपछि बिग्रिएर थन्किएपछि हालसम्म मर्मत नगरिँदा भन्सार कर्मचारीले हातैले सामान जाँच गर्नुपर्ने बाध्यता छ ।

दैनिक हजारौँको सङ्ख्यामा नेपाल–भारत आउजाउ गर्ने यात्रुहरूको सामान जाँचमा समय लाग्ने र झन्झट बढ्ने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए । नेपालबाट भारततर्फ जाने यात्रुहरूको सामान भारतीय सीमा रूपईडिहामा एसएसबीको स्क्यानरले जाँच्ने व्यवस्था रहेको छ ।

नेपालतर्फ भने आवश्यक उपकरणको अभावले परीक्षण प्रक्रिया ढिला हुने र पारदर्शितामा समेत प्रभाव पर्ने खतरा रहेको छ । यसले यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न समस्या मात्र होइन, सीमा सुरक्षामा पनि चुनौती थप्ने देखिएको छ ।

सम्बन्धित निकायले मेसिन मर्मत गर्न तत्परता नदेखाउँदा सीमा नाका व्यवस्थापनमा सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया