सल्यान : सल्यानमा पशुचौपायामा लाग्ने शंकास्पद अज्ञात रोगको प्रकोप देखिएको छ । जिल्लाको कुमाख गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका विभिन्न वडामा रोग फैलिँदा सयौँ पशुचौपाया बिरामी परेका छन् ।
कुमाख गाउँपालिका –१, ४ र ६ का करिब ३५ घरधुरीका किसानले पालेका करिब ३ सय गाई, भैँसी तथा भेडाबाख्रामा रोगको लक्षण देखिएको छ । यस्तै, सिद्धकुमाख गाउँपालिका –५ मा पनि २५ घरधुरीका पशुचौपाया धमाधम बिरामी पर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गाई तथा भैँसीमा मुख, खुट्टा र गिजामा घाउखटिरा आउने, ज्वरो आउने, ¥याल काड्ने तथा घाँस नखाने समस्या देखिएको छ ।
कार्यालयले कुमाख क्षेत्रमा खोरेत रोगको संक्रमण भएको आशंका गरेको छ भने सिद्धकुमाख क्षेत्रमा लम्पी स्किन रोग फैलिएको हुन सक्ने जनाएको छ ।
रोग फैलिन थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेर नमुना सङ्कलन गरेको छ । सङ्कलित नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको कार्यालयले जनाएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी बिरेन्द्र केसीले रोग अन्य क्षेत्रमा फैलिन नदिन लक्षण देखिएका पशुहरूलाई छुट्टै राखेर उपचार सुरु गरिएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित पशुबाट रोग छिट्टै फैलिने भएकाले आवश्यक औषधी तथा खोपको व्यवस्था गरिएको छ ।
कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा खोरेत रोगविरुद्ध तथा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । पशुचौपायामा असामान्य लक्षण देखिएमा तत्काल नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन किसानलाई आग्रह गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार