बुटवल : बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । वर्षायाममा धेरै हुने डेंगु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियान समेत सुरु भएको छ ।
वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाइबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणका लागि बुटवल उपमहानगरले स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखिकरणसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग डेंगु सङ्क्रमण नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । डेंगु रोग पानीमा बस्ने लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घर वरपर टायर, गमला, ड्रम लगायतमा पानी जम्न नदिन स्वास्थ्यका विज्ञहरुले सुझाव दिएका छन् ।
वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको सङ्ख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाइबाट बच्न सके डेंगुबाट बच्न सकिने उनीहरुले बताएका छन् ।
बुटवल उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेयले डेंगु रोग नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण हुने बताउँँदै टोल टोलमा पुगेर जनचेतना फैलाउनका लागि आग्रह गरे ।
लार्भा खोज र नष्ट गर अभियानसँगै सबैजना सचेत बन्न सके डेंगु रोगबाट बच्न सकिने उनले बताए ।
स्वास्थ्य शाखाका अधिकृत कल्पना भुसाल पाण्डेयले नगरका १९ वटै वडाका १७६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको र उनीहरुमार्फत टोल टोलमा पुगेर सचेतना फैलाइने बताए ।
बुटवलमा डेंगु नियन्त्रणका लागि हरेक वर्ष खोज र नष्ट गर अभियान चलाउने गरिएको छ । तर यो वर्ष भने अभियान सुरु गर्नै ढिलाइ भएको छ ।
बुटवलका स्वास्थ्य शाखा प्रमुख पाण्डेले बुटवलका विभिन्न वडा र टोल टोलमा पुगेर डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाइने बताए ।
उनले वर्षायाममा घर वरिपरी फोहर पानी जम्न नदिने, ड्रम, टायर तथा ग्यालेनमा पानी जम्न नदिने र ढल तथा कुलो सफा राखेर लामखुट्टे बस्ने बासस्थान नष्ट गरे डेंगु नियन्त्रण हुने बताए ।
रुपन्देहीका अधिकाशं पालिकाहरुले वर्षा सुरु भएपछि डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर अभियान चलाउँदै आएका छन् । पालिकाहरुले यो वर्षपनि अभियान चलाउने तयारी गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार