नेपालगञ्ज : बाँकेको राप्तीसोनारी–९, ढकेरीमा अवस्थित ढकेरी वनस्पति उद्यानमा पुगेर करिब १० हजार सर्वसाधारणले उद्यानको अवलोकन गरेका छन् ।
पछिल्लो समयमा बाँके र बर्दियाका आन्तरिक पर्यटकको गन्तव्य बनेको ढकेरी वनस्पति उद्यानमा नयाँ वर्ष मनाउन पुग्नेको सङ्ख्या करिब १० हजार रहेको उद्यानको वैज्ञानिक अधिकृत रामकृष्ण भण्डारीले बताए ।
उनले हरियाली वातावरण, रङ्गीचङ्गी फूल र विविध वनस्पतिका कारण उद्यानमा आएर नयाँ वर्ष मनाउनेको सङ्ख्या थेगी नसक्नु पुगेको जनाउँदै एकै दिन उद्यानमा आउने सङ्ख्या हालसम्मकै सबैभन्दा बढी यही रहेको बताए ।
गत केही समयदेखि आन्तरिक पर्यटकको प्रमुख आकर्षण बनेको सो उद्यानप्रति नयाँ वर्षको दिन हालसम्मकै अत्यधिक आकर्षण देखिएको उद्यानका अधिकृत भण्डारीले बताए ।
उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष आगन्तुकको सङ्ख्या तेब्बरभन्दा बढी देखिएको छ । यस वर्ष धेरै प्रजातिका बोटबिरुवा तथा फूलहरू फुलेको तथा उद्यानलाई विशेष प्रकारको आकर्षक बनाइएकोले आन्तरिक पर्यटक बढेको जनाइएको छ ।
नयाँ वर्ष मनाउन परिवार, साथीभाई तथा आफन्तहरूसँग सो उद्यानमा पुगेका अधिकांश आगन्तुकहरूले त्यहाँको प्राकृतिक सौन्दर्य र वातावरणको खुलेर प्रशंसा गरेका थिए । नेपालगञ्ज–११ का जुनैद खानले यो उद्यानको धेरै नाम सुनेर नयाँ वर्ष मनाउन आएको जनाउँदै तर नाम सुनेको भन्दा पनि बढी आकर्षक रहेको पाएको बताए ।
उनले अब अर्को पटक कुनै बिदाको दिन पारेर परिवार र अन्य आफन्तलाई पनि लिएर उद्यानमा आउने बताए । यसैगरी कोहलपुरका सन्तोष गौतमले उद्यानको हरियाली, फूलबारी र व्यवस्थित संरचनाले मन लोभ्याएको बताउँदै यसलाई उत्कृष्ट घुमफिर गन्तव्यका रूपमा पाएको बताए ।
उता, ढकेरी वनस्पति उद्यान जडीबुटीको संरक्षण र अध्ययनका लागि पनि महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । यहाँ पाइने प्रमुख जडीबुटीहरूमा अश्वगन्धा, तुलसी, बोजो, सतुवा, हर्रो, बर्रोलगायतका बहुमूल्य औषधीय वनस्पति रहेका छन् ।
उद्यानमा रहेका यी जडीबुटीहरूले अध्ययन, अनुसन्धान तथा स्वास्थ्योपचारका दृष्टिले विशेष महत्त्व राख्दै आएको उद्यानका कर्मचारीले बताएका छन् । प्राकृतिक सौन्दर्य, शैक्षिक महत्त्व र जडीबुटीको विविधताले उद्यानलाई पछिल्लो समय उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार