Listen LIVE

बाँकेमा हात्तीपाइले विरुद्धको अभियान आजदेखि शुरु

नेपालगञ्ज : १५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउने कार्यक्रम गर्दा पनि सफल हुन नसकेपछि बाँकेमा बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरिएको छ । 

बाँकेको नेपालगशज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथको एउटा वडामा हात्तीपाइलेको औषधी खानेहरूको सङ्ख्या निकै कम भएकोले ती पालिकामा १६औं पटक सो औषधी खुवाउने अभियान सुरु गरिएको हो । 

१६औँ पटकको आम औषधी सेवन अभियान बिहीबारदेखि नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख सुनिता पौडेलले १६औँ पटकको आम औषधी सेवन अभियान नरैनापुर गाउँपालिकाबाट औपचारिकरूपमा सुरु गरिएको जनाउँदै डुडुवा, नेपालगञ्ज र बैजनाथमा पनि क्रमशः सुरू गर्ने बताए । 

उनका अनुसार यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगञ्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । 

अभियानको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधी सेवन गरेर सबैलाई अनिवार्यरूपमा औषधी खान आग्रह गरे । “अब १७औँ पटक अभियान दोहोरिन नदिन सबैले जिम्मेवारीका साथ औषधी सेवन गर्नुपर्छ,” उनले भने ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तैयब राइनीले विगतमा औषधि नखानुको मुख्य कारण प्रतिअसरको डर र जनचेतनाको कमी रहेको उल्लेख गर्दै यस पटक सबैले खानुपर्नेमा जोड दिए । 

तथ्याङ्क अनुसार जिल्लामा ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधी सेवन नगरेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्ने स्पष्ट पारे । “८० प्रतिशत सहभागिता नहुँदा नै १६औँ पटकसम्म अभियान चलाउनुपरेको हो,” उनले भने ।

अभियान सञ्चालनका लागि ४५ लाख रुपैयाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगसम्बन्धि फोकल पर्सन रत्नलाल शर्माका अनुसार ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र मधुमेहजस्ता सामान्य समस्या भएका तर दैनिक काम गर्न सक्ने व्यक्तिले औषधी सेवन गर्न सक्छन् । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामी तथा केही विशेष रोग भएका व्यक्तिलाई औषधी नखान आग्रह गरिएको छ । उनले नरैनापुरमा बिहीबारदेखि सो अभियान सुरु गरिएको जनाउँदै विभिन्न कारणले डुडुवा र बैजनाथमा माघ ११ गतेबाट र नेपालगन्जमा माघ १२ गतेबाट अभियान सुरू गरिने जानकारी दिए । 

हात्तीपाइलेजस्तो दीर्घकालीन अपाङ्गता निम्त्याउने रोग निवारणका लागि सबै नागरिकले औषधी सेवन गरेर अभियानलाई सफल पार्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने भएकाले अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको छ ।

प्रतिक्रिया