Listen LIVE

गुलरियाका किशोरीहरुका लागि बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेर सम्पन्न गरिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

सो शिविरबाट २७९ जना किशोरी तथा युवा महिलाहरुले महिला विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा बिभिन्न किसिमका सेवा तथा उपचार गराएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए । 

उनले शिविरमा उपचारका लागि आएका किशोरीहरुले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुबाट पाठेघर, गर्भवती जाँच, मनोसामाजिक परामर्श लगायत यौन तथा प्रजनन स्वास्थ्य सेवा लिएको बताए । 

अनुगमनका लागि शिविरमा पुगेकी गुलरिया नगरपालिकाका उपमेयर साबित्रा गौतमले यस्ता शिविरहरु समय समयमा सञ्चालन गर्नु आवश्यक रहेको जनाउँदै स्वास्थ्य सेवाबाट बन्चित समुदायलाई नियमितरूपमा यस्ता शिविरबाट उपचार सेवा दिन सकिने बताइन् । 

सोही प्रकारले स्वास्थ्यको पहुँच नपुगेका स्थानीय किशोरीले नेपालमा औषधि उपचार नगराएर सीमावर्ती भारतमा गएर उपचार गराउनु पर्ने बाध्यता रहेकोले यो स्वास्थ्य शिविरबाट धेरैजना लाभान्वित भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताए । 

सो अवसरमा गुलरिया नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ओमकार शाह, पत्रकारहरु, जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द लामिछानेले बताए ।

स्वास्थ्य शिविरमा डा. कबिता सिन्हा र डा. आदिति धितालले किशोरीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो भने अन्य स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया