नेपालगञ्ज : कोहलपुर नगरपालिका–१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आएकी छन् । गाईपालन व्यवसायमा रम्दै उनले मनग्गे आम्दानी गर्दै आएकी छन् ।
बुवा आमासँगै परिवारमा बस्दै आएकी ३८ वर्षीय शर्माले गाईपालनसँगै ८१ वर्षीय वृद्ध बुवा र ७६ वर्षीया वृद्धा आमासहित अन्य सदस्यको सेवासमेत गर्दै आएकी छन् । शारदाले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् ।
“हाम्रो समाजमा अझै पनि छोरीचेलीले केही काम गर्न सक्दैनन् भन्ने मानसिकता छ, बुवा आमा पाल्ने घरको जिम्मेवारी बहन गर्ने छोराले नै हो भन्ने परम्परागत सोंच अझै हाम्रो समाजबाट निर्मूल हुन सकेको छैन,” शारदाले भनिन, “म छोरी भएर पनि बुवा आमासँगै बसेर उनीलगायत परिवारलाई पालनपोषण र रेखदेख गर्दै आएको छु, मैले स्नाकोत्तरसम्मको पढाइ पूरा गरेको छु, पढेर जागिर नै खानुपर्छ भन्ने छैन, मैले किसानी पेशा नै रोजेँ र गाईपालन व्यवसायमार्फत मनग्गे आम्दानी गरिरहेकी छु ।”
शारदाले गाईपालन सुरु गरेको २३ वर्ष पुग्यो । “२०५८ सालमा १५ हजार रुपैयाँको लगानीमा एउटा गाई किनेर गाईपालन सुरु गरेँ, पारिवारिक पृष्ठभूमि किसान नै भएको हुँदा र बुवा आमाले पशुपालन गरेको देखेर यही पेशा व्यवसाय गर्न प्रोत्साहित भएँ,” शारदा भन्छिन, “त्यही एउटा गाईको सन्तानबाट विस्तारै सङ्ख्या थपिँदै गयो, सातवटा गाई पुगे र २०६८ सालबाट शारदा सिर्जनशील गाई फार्म दर्ता गरेर व्यावसायिक रुपमै गाईपालन व्यवसायलाई अगाडि बढाएँ ।”
शारदाको गोठमा अहिले जर्सी, होलस्टाइन तथा साहीवाल जातका २४ वटा गाई छन् । “अहिले सात वटा गाईले दूध दिँदै आएका छन्, ११ वटा गाई ब्याउने अवस्थामा छन् र बाँकी बाच्छा बाच्छी छन् । शारदाले भनिन, “हाल दैनिक ६५ देखि ७० लिटर दूध उत्पादन हुँदै आएको छ, उत्पादन भएको दूध गाउँमै रहेको सहकारीमा बिक्री गर्छौ, मासिक करिब डेढ लाख रुपियाँ जति आम्दानी हुँदै आएको छ ।”
व्यवसाय सुरु गरेदेखि हालसम्म शारदाले ७६ वटा गाई, बाच्छा, बाच्छी तथा बहर गोरु बिक्री गरेको उनले बताइन् । उनले ७६ वटा वस्तु बिक्रीबाट ७२ लाखभन्दा बढी रुपैयाँ प्राप्त भएको बताइन् । पछिल्लो समयमा बाच्छी बिक्री भइहाल्ने तर बाच्छो तथा बहर बिक्री हुन गाह्रो भएको उनी बताउँछिन् ।
“पहिला पहिला बाच्छा तथा बहर पनि सजिलै बिक्री हुन्थ्यो, पछिल्लो समयमा किसानहरुले खेत जोत्नका लागि ट्र्याक्टर लगायत प्रविधिको प्रयोग गर्न थालेसँगै बाच्छा र बहर बिक्री हुन छाडेको छ, बुढो गाई पनि बिक्री हुँदैन,” उनले भनिन् , ।
शारदाले गाईको घाँस व्यवस्थापन गर्नका लागि घर नजिकै १० कट्ठा जमिन भाडामा लिएर मौसम अनुसारका विभिन्न जातका घाँस लगाएकी छन् । त्यसैगरी गाईको मल बिक्रीबाट पराल लगायतका गाईका लागि आवश्यक वस्तुहरु खरिद गर्ने गरेको उनले बताइन् ।
सरकारले वास्तविक किसानलाई केही सहयोग नगरेकोमा उनको गुनासो छ । “नेताका आसेपासेले कागजी फार्ममार्फत नक्कली किसान बनेर राज्यको लाखौँ रुपियाँ स्वाहा बनाएका छन्, वास्तविक किसानको राज्यका कुनै पनि अङ्गसँग पहुँच नै पुग्दैन,” उनले भनिन, “सानातिना तथा मझौला पेशा व्यवसाय गर्ने किसान राज्यको पहुँचसम्म पुग्न नसक्दा ठगिएर बस्नुपरेको छ, राज्यले वास्तवमा वास्तविक किसानको पहिचान गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने हो ।”
वास्तविक किसानको पहिचान गरी सरकारले किसानलाई नगदमा अनुदान नभएर आवश्यक दाना, मल, घाँसका बिउ, औषधि उपचार, आवश्यक पर्ने प्रविधि तथा सामग्री निःशुल्क वितरण गर्नुपर्ने उनको भनाइ छ । (गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार