Listen LIVE

नेपालगञ्जमा जुम्ली स्याउको मूल्य घट्यो

नेपालगञ्ज : नेपालगञ्जको बजारमा जुम्लाबाट ल्याइएका स्याउ बिक्री वितरण भइरहेको छ । हरेक फलफूल पसलमा अहिले जुम्ली स्याउ मात्र देख्न पाइन्छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको देखिन्छ ।

जुम्ली स्याउ करिब एक महिनाअघि नेपालगञ्ज बजार भित्रिएको बताउँछन् फलफूल व्यापारीहरु । एक महिनाअघि नेपालगञ्ज बजारमा जुम्ली स्याउ आउँदा प्रतिकिलो २०० देखि २२० रुपैयाँसम्म बिक्री वितरण भएको फलफूल व्यापारी पप्पु कुरेसीले बताए ।

नेपालगञ्जको जिल्ला हुलाक कार्यालय अगाडि जुम्ली स्याउ मात्र फलफूल ठेलामा राखेर बिक्री गर्दै आएका कुरेसीले भने, “यो वर्ष जुम्ली स्याउ नेपालगञ्ज बजारमा आएको करिब एक महिना भयो, सुरुसुरुमा हामीले २०० देखि २२० रुपैयाँ प्रतिकिलोसम्म विक्री गर्याैं ।” अहिले मूल्य घटेर १२० देखि १३० रुपैयाँसम्म विक्री गरिरहेको छु ।”

भारत र चीनको स्याउ विक्री हुँदै आएको नेपालगञ्जमा अहिले भने भारतीय स्याउ आउन छाडेको छ । बजारमा फाट्टफुट्ट चाइनिज स्याउ देखिए पनि अधिकांश फलफूल पसलमा जुम्ली स्याउ मात्र देख्न पाइन्छ ।

“केही समय अघिसम्म हामीले भारतीय र चाइनिज स्याउ विक्री गर्दै आएका थियौं ।” नेपालगञ्ज १ धम्बोझीस्थित खजुरारोडमा फलफूल विक्री गरिरहेका व्यापारी जिसान हलवाईले भने, “अहिले भने पूरै जुम्ली स्याउ मात्र विक्री भइरहेको छ, भारतीय स्याउ त नेपालगञ्ज बजारमै छैन अहिले ।”

चाइनिज स्याउका पारखीलाई भनेर केही मात्रामा चाइनिज फुजी स्याउ राखेको र बाँकी सबै जुम्ली स्याउ नै आफूसँग रहेको हलवाईले बताए । उनका अनुसार चाइनिज फुजी स्याउ प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म र जुम्ली स्याउ भने १०० देखि १२० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

“जुम्ली स्याउ बजारमा आउँदा सुरुमा २२० रुपैयाँसम्म किलोको विक्री ग¥यौं, अहिले भने मूल्य घटेर १०० रुपैयाँसम्म झरेको छ, मूल्य घटेपछि जुम्ली स्याउ खरिद गर्ने ग्राहकहरु पनि बढेका छन् ।” उनले भने, “चाइनिज स्याउका ग्राहकहरुलाई केही मात्रामा फुजी स्याउ राखेको छु, फाट्टफुट्ट मात्र यो स्याउ बिक्री भइरहेको छ, सबै ग्राहकहरुले जुम्ली स्याउ नै खोज्नुहुन्छ ।”

नेपालगञ्ज १ धम्बोझी खजुरारोडका नन्दबहादुर गुरुङले आफू स्याउ पारखी भएको र दैनिक रुपमा स्याउ उपभोग गर्दै आएको बताए । “मैले वर्षौंदेखि दैनिकरुपमा स्याउ उपभोग गर्दै आएको छु, अहिले बजारमा जुम्ली स्याउ आएको छ, अरु स्याउको भन्दा स्वादमा जुम्ली स्याउ धेरै राम्रो छ ।” गुरुङले भने, “जुम्ली स्याउ ताजा, रसिलो र अत्यन्तै स्वादिष्ट छ ।”

जुम्ली स्याउ सुरुमा २२० रुपैयाँसम्म प्रतिकिलोमा आफूले खरिद गरेको बताउँदै उनले भने, “सुरुसुरुमा बजारमा जुम्ली स्याउ आउँदा २२० रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेँ, अहिले भने १०० रुपैयाँमा पाइएको छ ।”

बजारमा स्याउको कुनै निश्चित मूल्य छैन । फलफूल व्यापारीहरुले ग्राहक हेरेर आफूखुसी मूल्य निर्धारण गरेर बिक्री गरिरहेको पाइन्छ । फलफूल व्यापारीहरुले नेपालगन्जको ठूलासाना फलफूल व्यापारीले मात्र नभएर अहिले ठेलामा राखेर गल्ली गल्ली घुमाएर फलफूल विक्री गर्ने घुमन्ते व्यापारीले समेत जुम्ली स्याउ विक्री गर्ने गरेका छन् । 

बजारको मुख्य चोकहरु पुष्पलालचोक, धम्बोझीचोक, वबिपीचोक, गणेशमानचोक, चारबाहिनीचोक, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणीमोड, न्यूरोड, सहिद सेतु विकचोक, बसपार्क क्षेत्रलगायत सडकभरि राखिएका ठेलामा समेत जुम्ली स्याउ मात्र विक्री हुँदै आएको छ ।

प्रतिक्रिया