Listen LIVE

सहयात्री नेपालद्वारा नीलसागर सेवा आश्रमलाई सहयोग

नेपालगञ्ज : बाल क्लबका पूर्व सदस्यहरुले नेपालगञ्जमा सञ्चालन गरेको ‘सहयात्री नेपाल’ ले क्यान्सर पीडित महिला र नीलसागर सेवा आश्रमलाई नगद सहयोग गरेको छ । सहयात्री नेपालले पत्रकार सम्मेलन गर्दै पाठेघर क्यान्सर पीडित दाङ राप्ती गाउँपालिका–४ मौरीघाट निवासी पार्वता मल्ल र नेपालगन्जस्थित नीलसागर सेवा आश्रमलाई उक्त सहयोग रकम प्रदान गरेको हो ।

‘एक चिया, एक जीवन, एक परिर्वतन’ नारासहित सहयात्री नेपाल, बाँकेले राष्ट्रसेवक स्वर्गीय बिन्दु कुँवरको स्मरणमा क्यान्सर पीडित तथा नीलसागर सेवा आश्रमको भवन निर्माणार्थ ‘सहयोगका लागि चियापान’ अभियान गत साउन ९ गते सञ्चालन गरेको थियो । उक्त चियापानमा दुई सय जना मनकारी मनहरुले चियापान गरेको सहयात्री नेपालले जनाएको छ ।

मनकारीहरुले क्यूआरमार्फत र ‘दान बाकस’ मा स्वेच्छाले रकम दान गर्दा कुल ६० हजार ७ सय एक रुपैयाँ संकलन भएको थियो । स्वर्गीय कुँवरको स्मृतिमा नीलसागर सेवा आश्रमको भवन निर्माणका लागि ५० हजार ५१ रुपैयाँ र बाँकी १० हजार ६ सय ५० रुपैयाँ राप्ती गाउँपालिका वडा नम्बर–४ मौरीघाट दाङ निवासी ३८ वर्षीय पाठेघर क्यान्सर पीडित मल्ललाई उपचारार्थ सहयोग प्रदान गरिएको हो ।

सहयात्री नेपालका कोषाध्यक्ष सलमान सल्मानीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सहयात्रीका सचिव अञ्जना चर्तुवेदी, सदस्यद्वय श्वेता गुरुङ्ग र दीपा सुनारले संयुक्त रुपमा सो रकम प्रदान गरेका हुन् ।

प्रतिक्रिया