Listen LIVE

बाँकेमा ६ हजारभन्दा बढी सवारी कारबाहीमा

नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म ६ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनाको हालसम्म नियमविपरीत सञ्चालनमा रहेका ६ हजार ४२५ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरिएको बताए । उनले उक्त सवारीसाधन कारबाहीबाट ४९ लाख ४३ हजार पाँचसय रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए ।

“नागरिकप्रति ट्राफिक प्रहरी गम्भीर छ, चालु आवको हालसम्म नियमविपरीत सञ्चालनमा रहेका छ हजार ४२५ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन्, कारबाहीबाट ४९ लाख ४३ हजार पाँचसय रुपैयाँ राजस्व सङ्कलन भएको छ” प्रनि शाहीले भने, “ट्राफिककको काम कारबाही र राजस्व सङ्कलन गर्ने मात्रै होइन्, हामीले जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न समयमा ट्राफिकसम्बन्धी सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरु पनि अगाडि बढाइरहेका छौँ, नागरिकलाई सचेत पनि बनाइरहेका छौँ ।”

उनका अनुसार चालु आवको हालसम्म बाँके जिल्लाका विभिन्न स्थानहरुमा ३५१ वटा साना ठूला सवारीसाधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् भने ६४७ जना घाइते भएका छन् । त्यसैगरी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि जिल्लाका विभिन्न स्थानहरुमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त कार्यक्रमबाट ३० हजार ८७१ जना लाभान्वित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्तरुपमा सञ्चालन गरिरहेको ‘ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनउपर कारबाही अभियानअन्तर्गत नौ दिनमा ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकललाई कारबाही गरेको छ ।

प्रतिक्रिया