Listen LIVE

जाजरकोटमा चार जनामा दादुरा पुष्टि

जाजरकोट : जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीमा छ जनाको स्वास्थ्य परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो ।

जगतिपुर स्वास्थ्य चौकीमा परीक्षण गरिएका ६ जनामध्ये चार जनामा दादुरा पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ । गाउँमा ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने तथा आँखा रातो हुने जस्ता लक्षण देखिएपछि शंकास्पद व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीका प्रमुख सुनिल बुढाथोकीका अनुसार १८ वर्षीय दिपक विक, १८ वर्षीय डिल्ली विक, १८ वर्षीय धर्मिला विक, १० महिनाकी बालिका रितु विक, १७ वर्षीय कल्पना विक र २२ वर्षीय दुर्गा विकको परीक्षण गरिएको थियो ।

उहाँका अनुसार परीक्षण गरिएका मध्ये चार जनामा दादुरा पुष्टि भएको हो । गाउँमा दादुराका बिरामी देखिन थालेपछि स्वास्थ्य चौकीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

ज्वरो आउने, शरीरमा बिबिरा देखिने, रुघाखोकी लाग्ने, आँखा रातो हुने, मुखमा घाउ आउने तथा पखाला लाग्ने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै, बिदाका दिन पनि स्वास्थ्य संस्था खुला रहने जनाइएको छ ।

दादुरा रोग श्वासप्रश्वास तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले मास्क प्रयोग गर्न, संक्रमित व्यक्तिबाट टाढा रहन र सावधानी अपनाउन आग्रह गरिएको छ । भेरी नगरपालिका स्वास्थ्य शाखाले दादुराको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ ।

प्रतिक्रिया