काठमाण्डौ : आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।
उक्त जोखिम न्यूनीकरण गर्न करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउने उनले बताए । प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइने लक्ष्य छ । उनले भने, ‘१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् ।’
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार ९०० विद्यालयमा खोप केन्द्र र आठ हजार २०० अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार १६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार ६७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् । उनले भने, ‘यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार