नेपालगञ्ज : बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर ब्याडमिन्टन क्लब कोहलपुरको आयोजनामा आगामी वैशाख ११ देखि १३ गतेसम्म कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित हवल्दापुर कभर्ड हलमा उक्त प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको छ ।
क्लबका अध्यक्ष चण्डीप्रसाद गैरेले 'राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद' भन्ने मूल नारालाई आत्मसात् गर्दै कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदका माध्यमबाट अझै चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
खेलकुद क्षेत्रको समग्र विकास, युवाहरुको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने पनि प्रतियोगिताको उद्देश्य रहेको उहाँको भनाइ छ । प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिस्तरसम्मका खेलाडीहरुको उल्लेखनीय सहभागिता रहने उनले बताए ।
प्रतियोगिताले खेलाडीहरुबिच खेल भावना अभिवृद्धि गरि स्वस्थ प्रतिस्पर्धा हुनुका साथै कोहलपुरलाई खेलकुदको उदयीमान केन्द्रका रुपमा स्थापित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको उनले बताए ।
मेन्स डबल्स (खुलातर्फ) प्रथमलाई ७५ हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई १५–१५ हजार, मेन्स डबल्स 'बी' लेभल -खुलातर्फ) प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५–१५ हजार, भेट्रान्स डबल्स ४५ वर्षमाथि (खुलातर्फ) प्रथमलाई ४० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०–१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी, मेन्स डबल्स (बाँके जिल्लास्तरीय) प्रथमलाई ३५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई पाँच–पाँच हजार, मेन्स डबल्स (कोहलपुर नगरपालिकास्तरीय) प्रथमलाई ३५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई पाँच–पाँच हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताले युवा सहभागितामा वृद्धि, स्वस्थ समाज निर्माण, सामाजिक एकता तथा स्थानीय खेलकुद विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार