Listen LIVE

जानकी गाउँपालिकामा सचेतनामूलक तालिम सम्पन्न

नेपालगञ्ज : खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न स्थानीय तहको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकामा दुई दिने सचेतनामूलक तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको आयोजना तथा जानकी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा मानव बेचबिखन न्यूनीकरण, सुरक्षित आप्रवासन, बाल अधिकार संरक्षण तथा किशोर–किशोरीको सुरक्षासम्बन्धी विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाकोसहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले खुला सिमानाका कारण बाँके जिल्ला विशेष जोखिममा रहेकाले समुदाय स्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताए । उनले मानव बेचबिखन नियन्त्रण केवल सरकारी निकायको दायित्व मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा गाउँ–टोलसम्म पुगेर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नेपाल–भारत खुला सिमानाका कारण जानकी गाउँपालिका उच्च जोखिम क्षेत्रमा पर्ने भएकाले स्थानीय तहले विशेष सतर्कता अपनाउनुपर्ने बताए ।

सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको बताउँदै सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र विभिन्न प्रलोभनमार्फत युवायुवतीलाई फसाउने घटना बढिरहेको उल्लेख गरे । उनले विद्यार्थीलाई अभियानको केन्द्रमा राखेर जनचेतना फैलाउन सके समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले विद्यालय तहमा यस्ता व्यवहारिक र सचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउँदै विद्यार्थीमा आत्मविश्वास, सचेतना र जोखिम पहिचान गर्ने क्षमता विकास भएको बताइन् ।

तालिमकी प्रमुख प्रशिक्षक तथा शक्ति समूह लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले मानव बेचबिखन अहिले परम्परागत सीमाभन्दा बाहिर गई डिजिटल माध्यम, वैदेशिक रोजगारी, विवाह तथा आकर्षक आम्दानीको प्रलोभनमार्फत फैलिरहेको बताइन् ।

कार्यक्रममा आयोजक संस्था मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष आलम खानले प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जानकी गाउँपालिका र सोहराब अली र कन्या माध्यमिक विद्यालयलाई सम्मान गरेका थिए ।

तालिममा शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेल, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, सहायक शिक्षा अधिकृत झुमी कुमारी वली लगायतले सहजीकरण गरेका थिए । 

कार्यक्रममा ७० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा वडा नं ५ का अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादव, हुरी पप कि सचिव शरिला घर्तिमगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया