Listen LIVE

‘पञ्चायत’ की रिंकी भन्छिन्– फिल्ममा आएपछि नाम बदलें, शाहरुख र प्रियंका मेरा आदर्श

काठमाण्डौ : वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजन रिलिज भएसँगै यसकी एक प्रभावशाली पात्र रिंकी अर्थात् भारतीय अभिनेत्री सान्विका पुनः एकपटक चर्चामा छिन् । उनलाई अहिले ‘नेसनल क्रस’ समेत भन्न थालिएको छ ।

मध्यप्रदेशको जबलपुरकी सान्विका आफ्नो साधारण र स्वभाविक अभिनयले दर्शकको मन जितिरहेकी छन् । वास्तविक नाम पूजा सिंह रहेकी उनले फिल्म उद्योगमा आएपछि आफ्नो नाम परिवर्तन गरेर सान्विका राखेकी थिइन् ।

इन्जिनियरिङकी विद्यार्थी सान्विकालाई सुरुमा अभिनयमा कुनै रुचि थिएन । एकपटक ज्योतिषीले कुरैकुरामा भनिदिए– ‘तपाईंले अभिनय क्षेत्रमा हात जमाउनु राम्रो हुन्छ ।’ यसपछि उनी जबलपुरबाट मुम्बई आइन् फिल्म क्षेत्रमा भविष्य बनाउनका लागि ।

विभिन्न विज्ञापन, साडड दृश्य गर्दै संघर्ष गरिरहेकी सान्विकाले अडिसन मार्फत ‘पञ्चायत’ मा काम गर्ने अवसर पाइन् ।

हालै भारतीय मिडिया दैनिक भास्करसँगको कुराकानीमा सान्विकाले आफ्नो नाम परिवर्तनको कारणबारे बताएकी छन् । ‘पूजा नाम कमन थियो । क्रेडिट रोलमा मेरो नाम पूजा सिंह भनेर आउँथ्यो । मलाई एक अलग स्टेज नामको जरुरत थियो । पूजा सिंह नामकी अर्की पनि कलाकार थिइन् । पूजा सिंहको कोटेसन मेरो फोटोका साथ अखबारमा छापिन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले मैले सोचें– नाम बदल्नुपर्छ । पञ्चायत सिजन १ सम्म मलाई पूजा सिंहकै नामले जान्नुहुन्थ्यो ।’

सान्विकाले जबलपुरमा इन्जिनियरिङ गरिन् । पढाइ सकेपछि उनी बैंगलुरु गइन् । ‘एक्टिङमा आउने मलाई कुनै रुचि थिएन । एक समय कन्फ्युज थिएँ लाइफमा के गर्ने भनेर । तब मैले एक ज्योतिषीलाई आफ्नो ग्रह–नक्षत्र देखाउन गएँ,’ उनले सुनाइन्, ‘उनले बताए जब लाइफमा मौका मिल्छ, एकपटक एक्टिङ अवश्य गर्नुहोला भनेर । त्यसपछि मलाई लाग्यो उनले सही भनिरहेका छन् । मेरी एक साथी फिल्म इन्डस्ट्रीमा आए । उनको कारण मेरो पनि एक्टिङ करिअर सुरु भयो ।’

सान्विकाले ११ कक्षामा पढ्दादेखि धेरै फिल्म हेर्न सुरु गरिन् । पहिले स्कुल र कलेजका कारण फिल्म हेर्ने समय नै उनलाई मिल्दैनथ्यो । कलेज बंक गरेर कहिलेकाहीं फिल्म हेर्न जान्थिन् । उनले अनुष्का शर्माको ‘एनएच १०’ हेरिन् । ‘यो फिल्म मलाई खुबै राम्रो लाग्यो । त्यसैबेलादेखि मेरो दिमागमा आयो– कुनै अभिनय गर्ने मौका मिल्यो भने अनुष्का शर्माको जस्तो रोल गर्न चाहन्छु,’ सान्विकाले सुनाइन्, ‘त्यसका साथै वेकअप सिड और ब्यान्ड बाजा बारात जस्तो फिल्म पनि निकै मनप¥यो । रणवीर कपुर र दीपिका पादुकोण मेरो फेभरेट भए ।’

सान्विकालाई इरफान खान र नसिरुद्धिन शाहको फिल्म हेर्न औधी रुचि लाग्छ । ‘समग्रमा शाहरुख खान र प्रियंका चोपडा मेरा आदर्श हुन्,’ उनले भनिन्, ‘यो मात्रै एक्टिङको कुरा होइन । वास्तविक जीवनमा पनि व्यक्ति कस्तो छ भन्नेमा फरक पर्छ । उनीहरु दुवै जब बोल्छन् मिनिङफुल लाग्छन् ।’

प्रतिक्रिया