Listen LIVE

एक करोड राशीको मेरो डान्स युनिभर्सको अडिशन नेपालगञ्जमा हुने

नेपालगञ्ज : नेपालकै सर्बाधिक पुरस्कार राशी भएको रियालिटि सो मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्सको अडिशन नेपालगञ्जमा हुने भएको छ । यही फाल्गुण २० र २१ गते नेपालगञ्जको सगरमाथा ईङ्गिलस बोर्डिङ्ग स्कुल परिसरमा अडिशन हुने भएको हो ।

नेपालका बिभिन्न ४ स्थानमा मात्र हुने अडिसन मध्य लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका प्रतिभावान कलाकारहरुलाई मध्यनजर गर्दै नेपालगञ्जमा अडिशन गर्न लागीएको अडिशनका पश्चिम संयोजक तिलक गाउँलेले जानकारी दिए । इन्ट्रा–नेशनल वेलफेयर अमेरिकाको आयोजनामा हुन गैरहेको नेपालगन्ज अडिशनका लागी आबेदन खुल्ला गरिएको बताँउदै गाउँलेले सो अडिशनमा सुदुरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका १ हजार बढि कलकारकारहरु सहभागि हुने बताए ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वास भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाशा राख्ने सम्पूर्ण नेपालीभाषी समुदायका लागि यी दुई रियालिटी शो आयोजना हुन लागेको इन्ट्रा–नेशनल वेलफेयरका नेपाल संयोजक राम बानियाँले बताए । 

सन् २०२३ मा यी दुबै रियालिटी शोको पहिलो सिजन भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त निर्णायक (जज) को भूमिकामा रहनेछन् ।

मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकमा भने बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहेका छन् । 

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हंगकंग र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतका लागि सिलिगुरी र मुम्बईमा तथा नेपालको बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाण्डौमा अडिशनहरु आयोजना हुँदैछन् ।

अडिशनबाट भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु छनोट गरिने छ । दुवै शोका विजेताहरुलाई एक एक करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ । 

मेरो डान्स यूनिभर्सअन्तर्गत हरेक एपिसोडको शुरुमा प्रस्तुत गरिने समूह नृत्य ग्रुप डान्स पनि प्रतियोगितात्मक हुने जनाइएको छ । समूह नृत्यका विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तेस्रो हुनेले ५ लाख पुरस्कार पाउने छन् । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया