Listen LIVE

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

बुटवल : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताएका छन् । 

बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताए । ६ अर्ब १८ करोड लागतको यो आयोजना समयमै सक्न निर्देशन दिँदै उनले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे । पाँच वर्षमा निर्माण सक्ने सम्झौता भए पनि तीन वर्षमा सक्ने गरी काम गर्ने निर्माण कम्पनीले बताएपछि पौडेलले बोलेर होइन, गरेर देखाउन आग्रह गरे । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उनले भने ।

यो आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट पनि निगरानी गर्नुपर्ने पौडेलले बताए । उनले अस्पतालको यो भवन लुम्बिनी प्रदेशमा अगाडि बढेका अन्य आयोजनाहरू मध्ये महत्त्वपूर्ण हुने पनि बताए । “भवन मात्र निर्माण गरेर हुँदैन, त्यसको प्रभावकारी व्यवस्थापन पनि जरुरी हुन्छ, यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ”–उनले भने, “सङ्घीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।”

प्रतिक्रिया